पोखराले ललितपुरलाई ९ विकेटले हरायो
१३ आश्विन २०७८, बुधबार १५:०१
काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ । जीतसँगै पोखरा कुल तीन अङ्कका साथ अङ्क तालिकामा पहिलो स्थानमा रहेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको पोखराले ललितपुरलाई निर्धारित ७ ओभरको खेलमा ५१ रनमा रोकेको थियो । रन बनाउने क्रममा ललितपुरले ६ विकेट गुमाएको थियो । गए राती परेको पानीले मैदान खेल्ने अवस्थामा नरहेकोले खेल सात ओभरमा घटाइएको थियो ।
ललितपुरका लागि सन्दुन विराकोदीले १९ र नारायण जोशीले ११ रन बनाएका थिए । पोखराका नन्दन यादवले ३ र विक्रम सोबले २ विकेट लिएका थिए । त्यसैगरी केस्रिक विलियम्सले १ विकेट हात पारे ।
पोखराका लागि रिचार्ड लेवीले ३८ र रित गौतमले १२ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेका थिए । ललितपुरका अज्मतुल्लाह ओरजाइले १ विकेट लिए ।
दुई खेल खेलेको ललितपुर दुवै खेलमा पराजित हुँदै अङ्क तालिकाको पुछारमा रहेको छ । ललितपुर यसअघि काठमाडौं किङ्ग्स ११सँग पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया