निर्मला हत्याको ३ वर्ष : ‘न्याय पाउने आस छैन’
१० श्रावण २०७८, आईतवार ११:३९
कञ्चनपुर । निर्मला पन्त हत्या घटनाको तीन वर्ष पुग्दा पनि दोषी पत्ता नलागेपछि परिवारले न्यायको आस हराएको बताएका छन् । ‘जसले जति भने पनि कसैले न्याय दिने जस्तो लाग्दैन,’ दुर्गादेवी पन्तले आक्रोशित हुँदै भनिन्, ‘मेरो पीडा बुझ्ने कोही भएन ।’ उनले प्रहरीदेखि सरकार जति परिवर्तन भए पनि न्याय पाउने आस हराएको बताइन् ।
२०७५ भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो । अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेको नेतृत्वमा अनुसन्धान चलिरहेको एसपी उमाप्रसाद चतुर्वेदीले बताए । ‘हामी इमानदार भएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले हाम्रो अनुसन्धान सही दिशामा गइरहेको छ ।’
जिल्ला प्रहरीसँगै केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । ‘अनुसन्धान तार्किक निष्कर्षमा पुग्न ठोस प्रमाण प्राप्त हुन सकेको छैन,’ एसपी चतुर्वेदीले भने, ‘घटनास्थलको विश्लेषणकै आधारमा अनुसन्धान गरिरहेका छौं, हामी बलियो प्रमाणको खोजीमा छौं ।’ उनले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखिएको बताए । निर्मला प्रकरणमा सडकदेखि संसद्सम्म आवाज उठेको थियो । नेपाली कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले तत्कालीन सरकारले अपराधी जोगाउन खोजेको आरोप लगाउने गरेका थिए । अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । तर निर्मलाकी आमा दुर्गादेवी सरकार परिवर्तन भए पनि न्याय पाउने आस मरिसकेको बताउँछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया