युरोकप : रुसलाई पराजित गर्दै डेनमार्क नकआउट चरणमा प्रवेश
८ असार २०७८, मंगलवार ०८:४८
काठमाडौं । युरोकप फुटबलमा रुसलाई पराजित गर्दै डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।
रुसका आर्टम ज्यूबाले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन् । उनले पिएरे इमिलको पासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २–० को बनाए । रुसका डिफेन्डरले दिएको ब्याक पासमा उनले गोल गरे । ७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २–१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए । यस जितसँगै समूह ‘बी ‘को डेनमार्कले ३ खेलमा ३ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।
पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १(० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २(१ ले पराजित भएको थियो ।
डेनमार्कसँग पराजित रुस भने समूह चरणबाट बाहिरिएको छ । पुछारमा रहेको रुसले ३ खेलमा ३ अंक जोड्यो । पहिलो खेलमा बेल्जियमसँग ३(० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया