जसपा कार्यकारिणी समितिबाट उपेन्द्र यादवसहित १६ जना हटाइए
२ असार २०७८, बुधबार १६:२६
काठमाडौं। जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका नेताहरू राखेर कार्यकारिणी समिति हेरफेर गरेका छन्। अध्यक्ष ठाकुरले आफू पक्षीय १६ जना कार्यकारिणी सदस्यहरू राखेर अर्का अध्यक्ष यादव पक्षका १६ जनालाई हटाएका छन्।
स्रोतका अनुसार ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव, रमेश यादव, मृगेन्द्र सिंह यादव, रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएका छन्। त्यस्तै, आफू पक्षीय खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायतलाई कार्यकारिणीमा लगेका छन्।
स्रोतका अनुसार ठाकुरले कार्यकारिणी समिति हेरफेर गरेको सूचना आयोगमा पठाउने तयारी गरेका छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा आफ्नो पक्षमा ३० भन्दा बढी कार्यकारिणी सदस्य रहेको यादव पक्षको दाबी छ।
यादव पक्षले बहुमत कार्यकारिणी सदस्यको उपस्थितिमा अध्यक्ष ठाकुरसहितका ४ जनालाई कारबाही गरेका छन्। कार्यकारिणी समितिका बहुमत सदस्यहरूको हस्ताक्षर समेत यादवले निर्वाचन आयोगमा पठाइसकेका छन्। तर ठाकुरले भने यादवलाई कारबाही गरेको पत्र मात्रै पठाएका छन्।
लोकपाटी न्यूज बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया