विश्वकप छनौटमा आज नेपाल र चाइनिज ताइपेइ भिड्दै – Nagarikabhiyan : National News

विश्वकप छनौटमा आज नेपाल र चाइनिज ताइपेइ भिड्दै

काठमाडौँ । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार चाईनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताइपेसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् । अलमुताईरीले कुवेतको मौसममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने बताए ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ’बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ । ४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

चाईनिज ताइपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताईपे अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो ।

ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । कोरोना महामारीकाको कारण नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो । यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाल कुवेत गएको हो । इराकसँग नेपाल ६–२ गोलअन्तरले पराजित भएको थियो ।