गण्डकीमा जनमोर्चाका सांसदले नमानेपछि विपक्षीको सरकार बनाउने कसरत असफल – Nagarikabhiyan : National News

गण्डकीमा जनमोर्चाका सांसदले नमानेपछि विपक्षीको सरकार बनाउने कसरत असफल

पोखरा । गण्डकी प्रदेशमा विपक्षी दलको सरकार बनाउने प्रयास असफल हुने देखिएको छ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिएपछि सरकार बनाउने कसरत असफल हुने देखिएको हो ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् ।

बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गरेपनि सांसद थापाले नटेरेको कारण सरकार गठन गर्न नसकिएको हो ।

थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले बताउनुभयो ।

यदि प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ ।

प्रदेशसभाको सबभन्दा ठूला दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ। यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँदैछ । अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले पीएस गुरुङलाई विस्थापित गर्न नसक्ने देखिएको हो ।ज्योतिन्यूज