भूमि रक्षाका लागि राष्ट्रिय एकता बलियो हुन आवश्यक : कांग्रेस नेता सिंह – Nagarikabhiyan : National News

भूमि रक्षाका लागि राष्ट्रिय एकता बलियो हुन आवश्यक : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रिय एकतालाई बलियो बनाउन अपिल गरेका छन् ।

मंगलबार नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै नेता सिंहले सो अपिल गरेका हुन् । साथै उनले कोरोना महामारी जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन प्रेस युनियनलाई आग्रह गरेका छन् ।

सबैखाले जटिलतालाई नेपालीहरुको एकता र सहकार्यमा मात्रै परास्त गर्न सकिन्छ भन्ने कुराको हेक्का राखेर अघि बढ्न आग्रह गर्दै उनले देशमा लोकतन्त्र स्थापना र जनताका हक अधिकारको पक्षमा युनियनले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका छन् ।

‘देशमा लोकतन्त्र र जनताका हकअधिकारसहित जनताको बलिदानबाट प्राप्त परिवर्तनका उपलब्धीमाथि अहिले पनि विभिन्न कोणबाट प्रहार शुरू भएको छ ।’ उनको सन्देशमा लेखिएको छ–‘यो अवस्थामा नेपाल प्रेस युनियनको भूमिका थप बढेको छ । इतिहासमा जस्तै आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने सक्षम प्रेस युनियन अहिले आवश्यकता हो भन्ने मलाई लागेको छ ।’