उत्कृष्ट पुरुष खेलाडीमा नेपालका भुर्तेल मनोनित
२२ बैशाख २०७८, बुधबार १३:३०
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अप्रिल महिनाको उत्कृष्ट पुरुष खेलाडीमा नेपालका कुशल भुर्तेल मनोनित भएका छन् ।
पाकिस्तानका कप्तान बाबर आजम र अर्का पाकिस्तानी ब्याट्सम्यान फक्हर जमानसँगै नेपालका २४ वर्षीय ब्याट्सम्यान कुशल भुर्तेल मनोनित भएका हुन् ।
भुर्तेलले गत महिना काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-ट्वेन्टी प्रतियोगिताको ५ खेलमा ४ मा अर्धशतक प्रहार गरेका थिए । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सो प्रतियोगिता नेपालले जितेको थियो। भुर्तेल उक्त प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’ पनि घोषित भएका थिए ।
आईसीसीले गत जनवरी महिनादेखि ‘प्लेयर अफ दि मन्थ’ को पुरस्कार दिन थालेको हो । यसको विजेताको टुङ्गो भोटिङको माध्यमबाट हुने गरेको छ ।
कुशल भुर्तेल यस पुरस्कारको मनोनयनमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । यसअघि जनवरी, फेब्रुवरी र मार्च महिनाको पुरस्कार क्रमशः भारतका ऋषभ पन्त, रविचन्द्रन आश्विन र भुवनेश्वर कुमारले जितेका थिए ।
कुशलले यदि बाबर र फक्हरलाई हराएको खण्डमा पुरुषतर्फको विधामा यो पुरस्कार जित्ने नेपाल दोस्रो राष्ट्र हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया