राजनीतिक दलका नेताहरुलाई लाग्दैन कोरोना ?
१० बैशाख २०७८, शुक्रबार २२:१०
काठमाडौं । स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमा राजनीतिक दलका नेताहरु पनि उत्तिकै अग्रपंक्तिमा छन् ।
कोभिड-१९ ले रोग, भोक,उमेर, वर्ग,जाती,पार्टी, धर्म केहि छुट्याउँदैन तर पनि स्वास्थ्य मापदण्ड पालना नगरेको आधारमा जुनसुकै पार्टी दलका अध्यक्ष देखि तल्लो तहका कार्यकर्तासम्म उत्तिकै कार्यक्रममा व्यस्तता छन् ।
नेपालमा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नै, सरकारको निर्देशन, स्वास्थ्य मापदण्डको धज्जी उडाउँछन् । गत मंगलबार अघिल्लो दिन आँफैले जारी गरेको आदेशको अवज्ञा गर्दै बालुवाटारमा दर्जनौं मानिस सहभागी गराउँदै प्रधानमन्त्रीले धार्मिक अनुष्ठान गर्नुभयो । जनताले मात्रै पालना गर्नुपर्ने तर आफूले पालना नगर्नुपर्ने जस्तो गरी प्रधानमन्त्री निवास बालुवाटारमा २५ जना भन्दा बढि मानिस भेला गरी सामान्य स्वास्थ्य मापदण्ड समेत पालना नगरी कार्यक्रम गरियो । नेकपा एमालेको नयाँ पार्टी कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री ओली थापाथली जानुभयो। त्यहाँ पनि सयौँ नेता कार्यकर्ता सहभागी थिए ।
माधव कुमार नेपाल पनि कोरोना भाइरसको उत्तिकै जोखिममा छन् । गत मंगलबार माधव पक्षीय सांसदहरु काठमाडौंको बानेश्वरमा घण्टौ एक साथ भेला भए । बिहिबार विहान पनि नेपाल पक्षका नेताहरु फेरि भेट गर्दै लामो समय एकसाथ समय बिताए । यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि २५ भन्दाबढी नेताकार्यकर्ताको भेलाहरुमा सहभागी भइरहेका छन् ।
सरकारले कोरोनाको जोखिम रहेको भन्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिन्छ अनि सरकार सञ्चालन गर्नेहरु नै त्यसको उल्लंघन गर्दै हिडिरहेका छन् । सार्वजनिक भेला गर्न समेत निषेध गरेपनि तिनै नेताहरु सार्वजनिक कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना नगरी सहभागी हुँदा नेताहरुमा संक्रमण हुने र ज्यान जोखिममा पर्ने समेत बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया