विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ – मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् – Nagarikabhiyan : National News

विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ – मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन्

काठमाडौँ ।  नेकपा एमालेका नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरिएपछि अर्का नेता योगेश भट्टराईले भद्दा मजाक भनेर टिप्पणी गरेका छन ।

अध्यक्ष ओलीले भुसाल र पाण्डेलाई कारबाही गरेपछि असन्तुष्टि जनाउँदै भट्टराईले नेपालमा विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुने गरेको टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ॠषिमुनि र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल : विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड धनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’

पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नआएको भन्दै ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेका छन् ।

ओलीले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरेका थिए । नेता नेपालसहित चारजनालाई कारबाही गरेपछि एमाले विभाजनको तहमा पुगेको छ ।