महोत्तरी – सिरसिया र धिरापुरका १६३ गरीब परिवारले पाए “लालपुर्जा” – Nagarikabhiyan : National News

महोत्तरी – सिरसिया र धिरापुरका १६३ गरीब परिवारले पाए “लालपुर्जा”

काठमाडौ ।  महोत्तरीको मटिहानी नगरपालिका–१ का सिरसिया र धिरापुरका  गरीब परिवारले घरजग्गाको लालपूर्जा पाएपछि दंग भएका छन् ।

बुधवार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको आफ्नो नाउँमा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाएर गरीब परिवार दंग भएका हुन् ।

 

जग्गाधनी प्रमाणपूर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भने,  “लाग्छ जिन्दगीमा ठूलै कुरा पाएका छौं, ‘अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौं ।”  सिरसिया र धिरापुर बस्तीका गाउँब्लकभित्रका १६३ घरधुरी धनीलाई बुधबार जग्गाधनी प्रमाणपूर्जा प्रदान गरेपछि यी दुवै बस्तीमा खुशी छाएको हो ।

 

नापी कार्यालय महोत्तरीले जगाधनी प्रमाणपूर्जामा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै (पति/पत्नी) जीवित भए दुवैको संयुक्त नाउँ उल्लेख गरेपछि महिलामा पनि घरजग्गाको स्वामित्व स्थापित भएको छ । यसले महिलामा आत्म गौरव बढाएको मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

 

नापी कार्यालय महोत्तरीले चालू आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको अवधिमा यसअघिका लक्ष्मीनियाँ, बलवा गाविसमा घरवासीलाई गाउँब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिसकेको छ ।

 

पछिल्लोपटक धिरापुरसहित जम्मा ९०० जग्गाधनी प्रमाणपूर्जा प्रदान गरिएको नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झा ‘रसिक’ले जानकारी दिए । कार्यालयले जारी चैत महिनाभित्रै यसअघिका किसाननगर, पशुपतिनगर र मनरा गाविसका गाउँब्लक भित्रको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने जनाएको छ ।

 

साविक गाउँब्लकका जग्गा नाप गरी जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्न १ दशकअघि नै नापी टोली खटाई घरजग्गा नाप गरिएको थियो । लामो समयसम्म वितरण हुन नसकेको जग्गाधनी प्रमाणपूर्जा कार्यालयले क्रमशः वितरण गर्दै लगेको छ । रासस