नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु, माधव समूहका नेतासमेत सहभागी
१३ चैत्र २०७७, शुक्रबार १६:११
काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठक आज माधव समूहका नेतासमेत सहभागीले बैठक बालुवाटारमा सुरु भएको छ ।
पार्टी अध्यक्ष ओलीले विधान विपरित काम गरेको भन्दै बैठकमा नजाने अडान लिएका नेपाल समूहका नेता शुक्रबार बालुवाटार बैठकमा गएका हुन् । बैठकअघि बसेको केन्द्रीय कमिटीका सदस्यको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको हो । वरिष्ठ नेता झलनाथ खनालसहितका नेता बालुवाटार पुगेका हुन् ।
नेपाल र खनाल नेपाल समूहले आफ्ना अडानलाई यतावत राख्दै संसदीय दलको बैठकमा जाने निर्णय गरेको रघुजी पन्तले जानकारी दिए । बैठकमा को जाने वा नजाने भन्ने विषयमा छलफल नभएको तर बैठकमा गएर आफ्ना कुरा राख्ने निर्णय भएको उनको भनाइ छ ।
‘बैठकमा साथीहरू जानुहुन्छ र आफ्नो कुरा राख्नुहुन्छ,’ पन्तले भने, ‘पार्टीलाई बलियो र गतिशील बनाउनका लागि विधि र पद्दतिमा चलाउन संघर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ ।’
नेपाल–खनाल केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा गएरै अडानलाई कायम राख्ने निर्णय गरेको हो । विधानविपरित भएका निर्णय खारेज नभएसम्म पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीसँग सहमति नहुने निष्कर्ष बैठकको छ ।
बिहीबार नै ओलीले संसदीय दलको बैठक बालुवाटारमा बोलाएका हुन् । सरकारी निवासमा बोलाएको बैठकमा नेपाल समूहका केही नेता भने अनुपस्थित हुने भएका छन् । नेता पन्थले भने व्यक्तिगत कारण केही नेता उपस्थित नहुने दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया