सरकार बनाउन अग्रसर भएको बताउँदै अनुकूल वातावरणको प्रतीक्षा – विमलेन्द्र निधि – Nagarikabhiyan : National News

सरकार बनाउन अग्रसर भएको बताउँदै अनुकूल वातावरणको प्रतीक्षा – विमलेन्द्र निधि

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सरकार बनाउन अग्रसर भएको बताउँदै अनुकूल वातावरणको प्रतीक्षा गरेको बताएका छन् । सरकार बनाउनका लागि कांग्रेस अग्रसर नभएको भन्दै पार्टीभित्रबाट आलोचना भइरहेको समयमा उपसभापति निधिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिपक्ष कुन दल होला जो सरकार बनाउन अग्रसर नहोस्,’ कांग्रेस अग्रसर नै रहेको संकेत गर्दै निधिले भने, ‘सरकार बनाउनका लागि वातावरण अनुकूल हुनुपर्‍यो । ‘ वैकल्पिक सरकार गठन गर्नका लागि कांग्रेससँग पर्याप्त संख्या नभएको निधिको भनाइ थियो ।

‘अलिकति पनि नैतिकता भएको भए १ मिनेट पनि ढिला नगरी सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’, निधिले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेको यो हो र यो अन्तर्राष्टिय अभ्यास पनि हो। सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छैन तर प्रधानमन्त्री ओली भने त्यसको फेस गर्छु भनिरहेका छन् ।’

कांग्रेसलाई अन्य दलले सरकारको नेतृत्व गर्न औपचारिक प्रस्ताव गर्नुपर्ने भए पनि औपचारिक प्रस्ताव नआएको उनको भनाइ रहेको छ । सभापति शेरवहादुर देउवाको निवास बूढानीलकण्ठमा गतसाता भएको छलफलमा सहभागी उपसभापति निधिले जसपा नेताहरूले सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव नगरेको स्पष्ट पारे ।

प्रतिनिधिसभा पुनर्थापना भएपछि बसेका चारवटा बैठक शोक प्रस्ताव पारित गर्दै सकिएकाप्रति आपत्ति जनाउँदै उपसभापति निधिले सरकारले प्रतिनिधिसभालाई अकर्मण्य र निस्क्रिय बनाएको आरोप लगाए । उनले प्रतिनिधिसभालाई गतिशील र व्यस्त बनाउनुपर्ने बताए ।