नेकपा पार्टी एकताबद्ध हुने ?
५ चैत्र २०७७, बिहीबार १६:००
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल– माधव नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
उक्त समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेता भिम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए । भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफुहरुको जोड रहेको पनि उनले बताए ।
त्यस्तै नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ । अध्यक्षा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफुहरु सहितको अर्को बैठक बोलाउनुपर्ने नेता ठाकुर गैरेको भनाइ छ ।
नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको आरोप लगाउँदै एमालेलाई एकताबद्ध बनाउन ओलीको भुमिका हुनुपर्ने बताउँछिन् ।
पुराना कम्युनिस्ट नेता एवं उक्त भेलामा सहभागी मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाए । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेकाले समस्या उत्पन्न भएको बताए । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफुहरु पनि गल्ती सच्याउन तयार रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया