जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न – Nagarikabhiyan : National News

जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) मा भावी सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।  अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता समीकरण अन्तरविरोध भएको छ ।

जसपाले कार्यदल बनाएको विषय मंगलबार नै सार्वजनिक भएपछि सांसद रेशम चौधरीको रिहाइलगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाभित्र अन्तरविरोध बढेको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टीका अधिकांश नेताले मंगलबार मात्रै पाएका थिए । कार्यदल बनाएको जानकारी संसदीय दलको बैठकमा गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन गर्न ठाकुरले पार्टीमा जानकारी नै नगराई कार्यदल बनाएको बुझाइ यादव पक्षको छ । त्यसपछि बैठकमै नेताहरूबीच केहीछिन चर्काचर्की परेको थियो । यादव र भट्टराईसहित उनीपक्षीय नेताहरू कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन गर्नुपर्ने पक्षमा छन् ।