बागमती प्रदेश सरकारले खर्चिए एक करोड ४६ लाख, पाँच जिल्ला अस्पतालको लागि ‘ख’ वर्गको एम्बुलेन्स
१८ फाल्गुन २०७७, मंगलवार ११:१८
काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट एक करोड ४६ लाख पाँच जिल्ला अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएका छन् । ति एम्बुलेन्स हेटौँडा, धादिङ, त्रिशूली, चौतारा र सिन्धुली अस्पताललाई उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशका १३ मध्ये हालसम्म आठ वटा जिल्ला अस्पताल मात्र प्रदेश मातहत आएका छन् । भने बाँकी पाँचवटा अस्पताल संघीय सरकार मातहत रहेको छ । आठमध्ये पाँच जिल्ला अस्पतालमा एम्बुलेन्स नभएका कारण स्वास्थ्य सुधार र अस्पतालको विकासमा टेवा पुर्याउने उद्देश्यले उपलब्ध गराइएको मन्त्रालयका सचिव दीपक काफ्लेले बताए ।
बागमती सरकारले २९ लाख २० हजारका दरले १ करोड ४६ लाख खर्चिएर एम्बुलेन्स खरिद गरिएको काफ्लेले बताए । एम्बुलेन्समा एसी, इसिजी मोनिटर, बिपी सेट, नेबुलाइजर सेट, एम्बु ब्याग, सेक्सन मेसिन, अक्सिजन, ह्विल चेयर र ट्रलीको सुविधा रहेको छ । विशेषगरी सडक दुर्घटनाका गम्भीर घाइते र जटिल बिरामीको जीवन बचाउने सामान्य उपचार सहित अस्पतालसम्म पुर्याउनको लागि सकिने हुनाले आवश्यक जिल्लाका लागि एम्बुलेन्स उपलब्ध गराइएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया