अदालतको निर्णयलाई सम्मान गर्न सकिँदैनः ईश्वर पोखरेल – Nagarikabhiyan : National News

अदालतको निर्णयलाई सम्मान गर्न सकिँदैनः ईश्वर पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वाेच्च अदालतको निर्णयलाई सम्मान गर्न नसकिने बताएका छन्।

मंगलबार मध्यरातमा ट्विट गर्दै उनले अदालतको निर्णय मानेपनि सम्मान गर्न नसकिने बताएका हुन्।

उनले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने दाबी पनि गरेका छन्।

उनले भनेका छन्, ‘सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ।’

गएको पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंगको घोषणा गरेकी थिइन्। जसलाई असंवैधानिक ठहर गर्दै मंगलबार सर्वाेच्च अदालतले बदर गर्ने फैसला गरेको छ।

यस्तै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यात्रा शीर्षकको कविता पनि पोष्ट गरेका छन्। उनको कवितामा मानिसहरुले कमजोरीलाई पराजित गर्दै गन्तव्य लक्षित बनेर हिँडिरहने सन्देश छ।