केपी ओलीका वकिलहरू सर्वाेच्चमा बहस नै नगर्ने निर्णयमा पुगेपछि … – Nagarikabhiyan : National News

केपी ओलीका वकिलहरू सर्वाेच्चमा बहस नै नगर्ने निर्णयमा पुगेपछि …

काठमाडौं । प्रतिनिधिसभा संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा जारी सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा उत्रिएका १० वकिलहरू बहस नै नगर्ने निर्णयमा पुगेका छन् ।

वकिलहरूले अदालतमा राख्नुपर्ने तर्क इजलाससमक्ष यसअघि नै आइसकेकाले आज बुधवार बहस नगर्नेमा सूचीमा नाम लेखाएका छन् ।

बुधवार प्रधानमन्त्री ओलीका तर्फबाट १५ जना कानून व्यवसायीले बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलिसम्मका लागि इजलास स्थगित गरेका थिए । तर बहस गर्न नचाहने वकिलहरूले आफ्नो नाम मात्रै टिपिदिन आग्रह गरेका थिए ।

अदालतको बहस धेरै लामो भएको भन्दै प्रधानन्यायाधीश जबरासहित सर्वाेच्च अदालत छिट्टै मुद्दाको टुंगो लगाउन चाहन्छ । जसका लागि अदालतले कानून व्यवसायीको बहस गर्ने समय समेत घटाएको छ ।

जबराले भोलि भनेपछि इजालसमा रहेका प्रधानमन्त्री ओलीका कानून व्यवसायीहरूले थोरै–थोरै समय लिएर भए पनि कुरा राख्न पाए हुन्थ्यो भनेर आग्रह गरे । प्रधानन्यायाधीश जबराले भोलि नै गरौं भनेर जवाफ दिए ।

त्यसपछि प्रधानमन्त्री ओलीका कानून व्यवसायी नाम मात्रै टिपाउन पाए पनि हुन्थ्यो भनेर आग्रह गरे । त्यसपछि जबराले ठीकै छ नाम पनि भोलि नै टिपाउनुहोला भनेर जवाफ दिए । तर प्रधानमन्त्री ओलीका कानून व्यवसायीले आजै बुधबार नाम टिपाउन ढिपी गरेका थिए ।

धेरै ढिपी भएपछि प्रधानन्यायाधीश जबराले नाम टिपाएपछि भोलि बहस गर्न नपाइने जवाफ दिँदै नाम टिपेका थिए । यसरी नाम टिपाउने कानून व्यवसायीको संख्या १३–१४ रहेको जनाइएको छ । आज नाम टिपाएका कानून व्यवसायीले अब ओलीको पक्षमा बहस गर्ने छैनन् ।

संसद विघटनसम्बन्धी मुद्दामा हालसम्म सरकारको प्रतिरक्षामा ४० जनाले बहस गरेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार महान्यायाधिवक्ता र सरकारी वकिल समेत गरी सरकार पक्षबाट बहस गर्न १८६ जनाले वकालतनामा नाम लेखाएका थिए । तर अब वकिलहरू बहसबाट टाढिँदै गएका छन् ।मिडिया डबलीबाट