इनरुवामा शहीद दिवस मनाइयो
१६ माघ २०७७, शुक्रबार १७:१४
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको मूख्य प्रवेशद्वारको शहीदगेटमा शहीदहरुको शालिकमा माल्यअर्पण गरेर शहिद दिवश मनाइएको छ । इनरुवा नगरपालिकाको आयोजनामा शुक्रवार बिहान इनरुवाका जनप्रधिनिधिहरुले शहीदहरुको शालीकमा माल्यअर्पण गरेको हो ।
इनरुवा बसचौकको प्रवेशद्वारमा रहेको शहीद गेटमा राखिएको हरि मेहता र श्यामसुन्दर मेहताको शालीकमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, इनरुवा–१ का वडाध्यक्ष रामचन्द्र पौदार र इनरुवा–७ का वडाध्यक्ष किशोर कुमार सिंह लगायतले माल्यअर्पण गरेर शहीद दिवस मनाउनुभएको हो ।
आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुदै इनरुवा नगरपालिकाका प्रमुख मेहताले शहीदहरुको योगदानलाई कदर गर्नुपर्ने बताउनुभयो । शहीदहरुले देश र जनताका लागि बालिदानी दिएकोले उच्च सम्मान गर्दै उनीहरुको सपना साकार पार्न लागीपरेको बताउनुभयो ।
मेहताले संघीय र प्रदेश सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा नदिएको प्रति दुःख ब्यक्त गर्दै आफूले इनरुवा नगरपालिकामा सार्वजनिक बिदा दिएको समेत बताउनुभयो ।
मेहताले मधेश आन्दोलनमा ज्यान गुमाएका हरि मेहता र श्यामसुन्दर मेहताको इनरुवाको प्रवेशद्वारमा शहीद गेटमा नै शालीक बनाएर सम्झना स्वरुप राखेकोले सबैले सम्मान गर्नुपर्नमा बताउनुभयो ।
त्यसैगरी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले राणाशासनको दमनको विरुद्धमा ज्यान गुमाएका योद्धाहरुलाई नमन गर्नुपर्ने बताउनुभयो । शासन र अन्यायको विरुद्धमा लडनुपर्ने उपप्रमुखको भनाई छ ।
शहीद दिवसको अवसरमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, सूचना अधिकृृत निरज पोखरेल, कर्मचारी, जनप्रधिनिधि, राजनीतिक दलका अगुवाहरु, समाजसेवी, नागरिक समाज र युवाहरुको सहभागितामा शहीद दिवस मनाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया