प्रचण्डमाथि ईश्वर पोखरेलको धावा, ढाडमा टेकेर टाउकोमा हान्ने भनेपछि आतंक – Nagarikabhiyan : National News

प्रचण्डमाथि ईश्वर पोखरेलको धावा, ढाडमा टेकेर टाउकोमा हान्ने भनेपछि आतंक

काठमाडौं। नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले विभाजित प्रचण्ड समुहमाथि कडा प्रहार गरेका छन् ।

उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई स्वीकार नगरेको बताउँदै प्रचण्डसमुहमाथि प्रहार गरेका हुन् ।

“पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न चाहेन र गर्न मिल्दैन भन्यो निर्वाचन आयोगले,” उनले लेखेका छन् ।

यस्तो छ उनको स्टाटस:

निर्वाचन आयोगको निर्णय र नेकपाको भविष्य

माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)भित्र देखापरेको चरम अराजक, चरम गुटबन्दी र हावी हुनपुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुनपुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको छ ।

(१) तत्कालीन नेकपा (एमाले) र माओवादीबीच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र अघि बढ्न सकिन्छ र त्यसविपरीत गरिएका वा गरिने कुनै पनि निर्णय वा कामलाई चिनिँदैन भन्ने निष्कर्ष दिएको छ निर्वाचन आयोगले  । त्यो सहमती भनेको, त्यसवेला व्यवस्था गरिएको दुई अध्यक्षका विचको सहमती र त्यही सहमतीका आधारमा कार्यसूचीहरूको निर्धारण र त्यसै आधारमा तयार गरिने प्रस्ताव तथा त्यसमाथि कमिटीमा गरिने छलफल तथा गरिने निर्णय र निकालिने निष्कर्ष हो । र,  त्यसैका आधारमा मात्र अघि बढ्नुपर्ने सहमति हो । अर्थात्, सहमतीको प्रस्थान विन्दु दुई अध्यक्षका विचको सहमति हो । त्यही जग र त्यहीँबाट अघि बढ्ने प्रकृयाबाट एकता महाधिवेशनसम्म पुग्ने संकल्प पनि हो । तर आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्वसमूहहरूमा लामै समयदेखि रहँदैआएको गुटबन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ  ‘समिकरण’ बनाउने, सन्दर्भ समूह बनाउने र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल प्रचण्डले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमति अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन । त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थिरताको झन्झावात, अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गम्भीर संकेत बन्न पुग्यो । प्रवल वन्दै गएको यही अपशकुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक विन्दुमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याएको छ । धन्यवाद छ, निर्वाचन आयोगलाई !

(२)  नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई स्वीकार गरेन निर्वाचन आयोगले । पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न चाहेन र गर्न मिल्दैन भन्यो निर्वाचन आयोगले । यही पृष्ठभूमिको आधिकारिकता समेतलाई स्वीकार गर्यो निर्वाचन आयोगले । पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको वैधानिक र औपचारिक मञ्चबाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै मिल्दैन भन्यो निर्वाचन आयोगले । फुट वकालत गर्नेहरू, यसैमा रमाउनेहरू, यसो गर्दा आफ्नो पदीय आकाङ्क्षा पुरा हुने दुस्वप्न देख्नेहरूलाई समेत राम्रो सवक मिलेको हुनुपर्छ निर्वाचन आयोगको यो निर्णयबाट ।

(३)  नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) अब के हुन्छ ? जोडिन्छ कि तोडिन्छ ? जंगली महत्वाकांक्षा बोकेर यसविचमा आम जनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर जे जस्ता ( कु)कर्महरू गरिए, जे जस्ता आत्मघाती कामहरू गरिए ( तिनलाई लिएर पश्चाताप गर्ने र क्षमा माग्ने काम गरिनुपर्छ सम्वन्धितहरूबाट । त्यस्ता काम गर्नेहरूले जुन उचाइबाट यो काम गर्नेछन् । त्यही उचाइबाट पार्टीको नवनिर्माण प्रारम्भ हुनेछ । अहिले, यतिवेला नेकपाको जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिँदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक छ । नेकपाभित्र ‘आउट डेटेडहरू’ बाहिरिने र

‘अपडेटेड’ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेकोछ ! नेकपा त अघि बढ्छ, बढ्छ साथै, नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका अभियन्ताहरू सबैका लागि एउटा महत्वपूर्ण शिक्षा बन्नसक्छ नेकपाको जीवनसित गाँसिएर प्रकट भएको अहिलेको घटना ।