नेकपा स्थायी कमिटी बैठक बोलाउन गठन भयो ‘दवाव समूह’
२५ बैशाख २०७७, बिहीबार १८:२१
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज (बिहीबार) बसेको अनौपचारिक बैठकले ‘दवाव समूह’ गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले चार सदस्यी दवाव समूह गठन गरेको बैठकमा सहभागी एक सदस्यले बताए । यो समूहले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक बैठक बोलाउ दवाव दिने बताइएको छ । दवाव समूहमा रहेका नेताले अध्यक्षद्वयलाई भेटेर बैठक बोलाउने विषयमा छलफलका साथै दवाव सिजृना गर्ने छ ।
प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्डले हिजो साझ छलफल गर्दै पूर्व निर्धारित आजको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्देशन दिएका थिए । तर, उनीहरुको निर्देशन विपरित १८ स्थायी कमिटी सदस्यहरुले अनौपचारिक बैठक गर्दै तत्काल बैठक बोलाउनुपर्ने निर्णय गरेको छ ।
दवाव समूहमा स्थायी कमिटीका सदस्यहरु भीम रावल, देव गुरुङ्ग, जनार्दन शर्मा, रघुजी पन्त सदस्य रहेका छन् । स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्न हिजो बसेको बैठक बिना निष्कर्ष सकिएपछि स्थायी कमिटीको बैठक समेत अनिश्चित भएको छ ।
२० स्थायी कमिटी सदस्यहरुले यस अघि नै स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्वय ओली र दाहाललाई लिखित रुपमै पत्र पठाएका थिए । त्यसपछि २० वैशाखको सचिवालय बैठकले स्थायी कमिटी बैठक आजको लागि तोकेको थियो । तर, बैठक बस्नुभन्दा एक दिन अघि स्थागित गर्ने निर्णय गरेपछि कमिटीका सदस्यहरु आक्रोशित छन् ।
स्थायी कमिटीको अनौपचारिक बैठकमा सहभागि सदस्य गणेश साहले पार्टीको विधान कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए । अहिले कोरोनाभाइरसको संक्रमण, लकडाउन, बजेट लगायतका विषयमा छलफल गर्नका लागि बैठकको आवश्यक्ता रहेको निष्कर्ष अनौपचारिक छलफलमा भएको उनले बताए ।
‘बैठक बस्नुपर्छ, पार्टीको विधान कार्यान्वयनमा सबैको एकमत छ, विधान उल्लंघन जुन भइरहेको छ त्यो हुनुभएन’ साहले भने, ‘बैठक नबस्दा धेरै विषयमा छलफल नै गर्न सकिएको छैन, हाम्रो जोड तत्काल बैठक बसाउनुपर्छ भन्ने नै हो ।’
नेकपा स्थायी कमिटी ४५ सदस्यी रहेको छ । स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा चयन भएपछि एक पद रिक्त छ । २० स्थायी कमिटी सदस्यले यस लिखित रुपमै बैठकको माग अध्यक्षद्यसँग गरेका थिए । तर, आजको बैठकमा बेदुराम भुषाल र टोपबहादुर रायमाझी अनुपस्थित रहेका थिए ।
द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया