प्रचण्ड-नेपाल समुहलाई काउन्टर दिँदै शशांक कोइरालाको यस्तो घोषणा, देउवाकै लाइनमा उभिए! – Nagarikabhiyan : National News

प्रचण्ड-नेपाल समुहलाई काउन्टर दिँदै शशांक कोइरालाको यस्तो घोषणा, देउवाकै लाइनमा उभिए!

चितवन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद विघटन विरुद्धको आन्दोलनमा आफूहरुले कसैसँग सहकार्य नगर्ने बताएका छन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहले सहकार्यको प्रस्ताव राखिरहेका बेला शशांकले कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने स्पष्ट पारे ।

शशांकले चुनाव हुने वातावरण बने कांग्रेस तयार रहेको पनि बताए । कांग्रेस सभापति शेरबहादुर देउवाकै लाइनमा शशांक बोलेका हुन् ।

देउवाले पनि विघटन असंवैधानिक भए पनि न्यायालयले चुनावको फैसला गरे आफूहरु निर्वाचनमा जाने बताउँदै आएका छन् । उनले तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिइरहेका छन् । यद्यपि शशांकले भने वैशाखमै निर्वाचन हुने सम्भावना कम रहेको बताए ।

निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने उनको भनाई छ । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।’

उनले अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस नभएको बताए । शशांकले अहिले कांग्रेस सरकारमा नजाने बताए । उनले भने, ‘सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अपजस लिन कांग्रेस सरकारमा जाँदैन ।’

सभापति शेरबहादुर देउवा पनि अहिलेकै अवस्थामा सरकारमा नजाने अडानमा छन् ।