आफू पक्षीय बैठक र भेला सम्बोधनमा प्रधानमन्त्री व्यस्त, कार्की ब्याङ्क्वेटमा आज पनि सम्बोधन गर्ने
१९ पुष २०७७, आईतवार ११:२६
काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणासँगै अनौपचारिक रुपमा नेकपा विभाजन भएपछि आफू पक्षीय बैठक तथा भेला सम्बोधनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकतामा राखेका छन् ।
बाहिरको कार्यक्रममा कमै मात्रामा सहभागी हुँदै आएका प्रधानमन्त्री ओली पार्टी विभाजनपछि भने सक्रियताका साथ हरेक दिन कार्यक्रमा सहभागी हुँदै आएका छन् । सोही क्रममा आज पनि प्रधानमन्त्री ओलीले मध्याह्नपछि काठमाडौं बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्दै छन् ।
ओलीनिकट अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले द नेपाल टपलाई जानकारी दिए । कार्यक्रम कार्की ब्याङ्क्वेटमा १२ बजेपछि शुरु हुनेछ ।
प्रचण्ड–माधव समूह आन्दोलनका कार्यक्रम नै घाषणा गरेर प्रधानमन्त्री ओलीको कदमविरुद्ध उत्रिएको बेला ओली पनि पार्टीका आफूनिकट भातृसंस्थाले आयोजना गर्ने बैठक, भेला, सभा–सम्मेलनमा सक्रिय रुपमा सहभागी हुँदै आएका छन् ।द नेपालटप
हिजो ओलीले काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेको थिए । पार्टी विभाजनसँगै नेकपाका नेताहरु एकअर्कामाथी आरोप–प्रत्यारोप थोपर्दै आफ्नो समूहलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने रणनीतिमा लागेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया