प्रचण्ड-नेपाल र झलनाथका एक एक प्रश्नको जवाफ दिँदै ओलीले जिते कार्यकर्ताको मन, भीम रावललाई पनि छोडेनन्
१७ पुष २०७७, शुक्रबार ०९:५८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले उठाएका एक एक प्रश्नको जवाफ दिएका छन् । जवाफ दिँदै ओलीले कार्यकर्ताको मनसमेत जिते । त्यसैले त हरेक जवाफमा कार्यकर्ताको हुटिङ र ताली गडगडाहट हल गुन्जिरह्यो ।
बुधवार कार्की पार्टी प्यालेस बबरमहलमा ओली समूहको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना कार्यकर्ता भेलामा सम्बोधन गर्दै ओलीले प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई एक एक प्रश्नको जवाफ दिएका हुन् ।
ओलीले प्रचण्ड नेपाल समूहका सुप नेता भीम रावलप्रति पनि कटाक्ष गरे, ‘उत्पीडनको प्रवृत्ति अन्त्य गरेका छौं। अर्कोलाई उठ्न नदिने, थिचेको थिच्यै गर्ने प्रवृत्ति अव रहन्न्। यहाँ सुपका ४ जना मन्त्री बसिरहेका छन्। यो अवस्थाका ल्याउनका लागि ढुंगा अगाडि बढ्न नदिनेहरु पछाडि पर्नुभयो। ढुंगा अगाडि बढ्यो। उहाँहरु पछाडि पर्नुभयो।’
त्यसपछि ओलीले प्रचण्ड र माधव नेपालमाथि फायर खोले। ‘उहाँहरुको स्वार्थ आफूमा छ। पदमा छ,’ माधव नेपाललाई व्यंग्य गर्दै ओलीले अगाडि भने, ‘मलाई मान गर्नन, अपमान गरे रे। जसको ध्यान यसमा छ देशमा कसरी हुन्छ?’

पार्टी एकताका लागि आफूले प्रस्ताव गरेर गल्ती गरेको बताउने प्रचण्डलाई ओलीले जवाफ दिए, ‘जनताको शक्ति टुक्रा टुक्रा परेको अवस्थामा ५० वर्षअघि सहि विचारसहित लोकतान्त्रिक गणतन्त्रको टुंगो लगायौं। यसलाई समाजवादउन्मुख बनाउन मैले नै प्रचण्डजीलाई एकताको प्रस्ताव गरे। छोरी जिताउन कांग्रेससँग मिल्नुभयो, मतपत्र च्यातेर लोकतन्त्र धुजाधुजा पार्नुभयो अब मिलेर जाउ भने। उहाँलाई मेरो कुरा राम्रो लाग्यो। खुसी हुनुभयो। तयार हुनुभयो। चुनावमा गठबन्धन गरेर जितेर आयौं। तर बागदरबारबाट शीतल निवास पुग्न अढाई महिना लाग्यो। हिँडेर गए १० मिनेटमा पुगिन्छ। चुनाव मसँग मिलेर लड्ने, ४० प्रतिशत भाग लिने। मिठा सजिला जित्ने ठाउँ छानेर लिने अनि सरकार बनाउन कांग्रेससँग वार्ता गर्ने? वामपन्थीसँग चुनाव जित्ने, दक्षिणपन्थीसँग सरकार बनाउने? मैले मित्रताको अंगालो हाले। उहाँले धृतराष्ट्रको जस्तो अंगालो हाले। उहाँको ध्यान कसरी सत्ता हत्याउने रहेछ। षडयन्त्रकारी, तिगडमको राजनीति छोड्नुस्। धोका र बेइमानी छोड्नुस् भनेर पटक पटक सम्झाए। तर अँह। साबुन लायो पखाल्यो जस्ताको तस्तै।’
प्रचण्ड नेपाल समूहसँग बहुमत छैन
‘उहाँहरु बहुमत छ भन्नुहुन्छ। के को बहुमत? त्यो संख्या एकता बनाउन, स्थिरता बनाउन हो। उहाँहरुले आफ्नो स्वार्थका लागि अपमान भयो, मान भएन भन्नका लागि होइन।’
‘मेरो एउटा व्रिफकेश भरिएको छ। प्रचण्डजी आज आउनुहुन्छ। ५ वर्ष तपाई नै चलाउनुस्। जनताले तपाईलाई चाहेको छ। मलाई कार्यकारी दिनुस् भन्नुहुन्छ। भोलि आउनुहुन्छ मैले गलत गरे कि भन्नुहुन्छ। मैले भने सचिवालयमा प्रस्ताव लानुस्। अर्कोदिन उहाँ भन्नुहुन्छ छिटो महाधिवेशन गरौं। एउटा सहमति गर्नुहुन्छ। काँचै छोड्नुहुन्छ। फेरि अर्को सहमति गर्नुहुन्छ। काँचै छोड्नुहुन्छ।’

‘म राष्ट्रपति र अन्य संस्थामाथि महाभियोग लगाउने सोच्नुभयो। लोकतन्त्र गणतन्त्र कामै नलाग्ने रहेछ भन्ने वातारण बनाउन खोजे।’
‘माधव नेपालको त कुरै नगरौं। उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो। कार्यकर्ता हुन जानुभएको छ। पदको लोभ छैन भन्नुहुन्छ। तर उदार हुन्न पनि भन्नुहुन्छ। नगद चाहिन्छ। नगद के रहेछ भने द्वितीय अध्यक्ष। पार्टी फुटाउन पनि दुइ/तीन वटा अध्यक्ष किन चाहियो। जुटाउन पो चाहिन्छ। फरक पार्टी एमाले र माओवादी एक हुँदा असहज स्थिति सिर्जना नहोस भनेर पो दुई अध्यक्ष राखिएको हो।’
‘ओली वैशाखबाट सकिन्छ भनेछन्। यो उहाँहरुको नमिल्ने भविष्यवाणी हो। पोहोर विरामी परे मर्छ भने। बैंकक जाँदा काठको बाकसमा फर्किन्छ भने म प्लेनमै बसेर आए। अस्ती बीचमा इन्फेक्सन हुँदा अब गयो भने भएन। त्यसकारण भविष्यवाणी मिल्दैन उहाँहरुको। लडाई एउटा विरामीसँग लडिँदैन। हट्टाकट्टासँग लड्ने हो। मानवीय संवेदना नै नभएपछि के गर्ने?’
‘एकातिर चुनाव हुँदै हुँदैन भन्नुहुन्छ। अर्कोतिर वैशाखको चुनावमा ओली पत्ता साफ हुन्छ भन्नुहुन्छ। मेरो शुभकामना छ चुनावमा केही सीट ल्याउनुस्। सडकमा बसेर कपडा विगारेर बेकारमा नबस्नुस्। लोकतन्त्रको सुन्दर पक्ष नै समय समयमा आवधिक चुनावमा जाने हो। पर पर भित्तोमा सिंगौरी खेल्नुहुन्छ। नजिकै आएर लड्न हिम्मत छैन। एक्लै खेल्दा कुनै खतरा हुँदैन। चुनावमा बेला जनताको ब्यालेटमा थाहा हुनेछ।’
‘संविधानले संसद पुनर्स्थापना गर्न दिँदैन। संसदको ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ। बहुमत नेताले गरेको निर्णय फिर्ता हुँदैन। विघटनपछि अहिले जो जहाँ भए पनि त्यतिखेर बहुमतको नेताले यो कदम चालेको हो। पुनर्स्थापनाको सम्भावना छैन। प्रधानमन्त्रीले विघटन गर्न मिल्दैन भने। संविधानको धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले भंग गर्ने भनेको के हो? अनि धारा ८४ मा विघटन भएको अवस्थामा बाहेक संसद कायम रहने भनिएकै छ। त्यसकारण राजनीतिक आग्रह देखाएर हुन्छ?’
झलनाथ खनाललाई जवाफ
झलनाथले मंगलवार रानीपोखरी र धरहरा केपी ओलीले नबनाएको बरु इन्जिनियर सिकर्मी र डकर्मीले बनाएको बताएका थिए। यसको जवाफमा ओलीले भने, ‘म पहिलोपटक प्रधानमन्त्री हुँदा पुनर्निर्माणका थुप्रै काम अघि बढाएको थिए। मलाई हटाइयो। चुनावपछि आएर प्रधानमन्त्री अघि बढेको थिए। काम जस्ताको तस्तै। रानीपोखरीको शिलान्याश गरेको ढुंगो सुकिसकेको थियो। धरहराको खणडालो जस्ताको तस्तै थियो। अब केही महिनापछि धराधरा चढेर काठमाडौं घुम्न आउनुस्। अब नभत्किने गरी धरहरा बनेको छ। हिजो झलनाथजीले भन्नुभएछ धराहरा केपी ओली बनाएको होइन इन्जिनियरले हो। म भन्न चाहन्छु इन्जिनियरले होइन डकर्मीले बनाएको हो। इन्जिनियरले त नापजाँच मात्रै गर्ने हो। हुनत कहिले हेरेको भए पो थाहा हुन्थ्यो।’
आफूमाथि लोकतन्त्र मास्न लागेको आरोपको खण्डन गर्दै ओलीले भने, ‘विगतमा कुखुरा खाने स्याल थियो। राजसंस्था थियो। जनता संगठित भइसकेका थिएनन्। अनि लोकतन्त्र खोसियो। अब राजसंस्था छैन। जनता संगठित छ। कसैले लोकतन्त्र खोस्न सक्दैन।’
प्रचण्डमाथि ओलीले फेरि हमला गरे, ‘केही मान्छे किन उत्ताउलिएका हुन थाहा छैन। मिलेर चुनावमा जाउभन्दा मान्नुभएन। उहाँहरुले केपी ओलीलाई पार्टीबाट निकालेको रे। उहाँले सदस्यता दिएको हो र निकाल्नलाई?’
ओलीले आफूले नै माधव नेपाललाई राजनीतिमा आउन प्रेरित गरेको दावी गरे। ‘एउटा केटो महेन्द्र मोरङ क्याम्पसमा पढ्थ्यो। म ५ वर्षदेखि संगठनमा र ३ वर्षदेखि पूर्णकालीन राजनीतिमा थिए। त्यो केटोलाई मैले राजनीतिमा आउन सुझाए। दुई वर्षपछि राजनीतिमा आयो। पहिला इमान्दार सोझो थियो। बैंकमा काम गर्ने मान्छे उदारो हुँदैन भन्छ। पछि कपट पसेछ।’

ओलीले प्रचण्ड नेपाल समूहलाई कमिलाको प्वाखसँग तुलना गरे। ‘कमिलालाई काल आएपछि पखेटा पलाउँछ। कमिला जीवित रहेसम्म दुलोबाट बाहिर आउँदैन। जब काल आउँछ। बाहिर आउँछ। प्वाख पलाउँछ। अनि भित्र छिर्न सक्दैन। चराचुरुङ्गीले टिपेर लान्छन्। उहाँहरु अहिले फुरफुर हिँड्या छन्। फिटफिटी छ। जनताले आज र विगतको सबै हिसाब राख्या छन्।’
प्रधानमन्त्रीले ओलीले मध्यावधि निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाधलीरहित ढंगले हुने विश्वास दिलाए। ‘वत्ती निभाइने छैन। मतपत्र च्यातिने छैन। च्यात्न दिइनेछैन। बाक्सा साट्न पाइँदैन। यस्तो तमासा लोकतन्त्रमा गर्न पाइँदैन। बगुन रोपेर सुन्तला फल्दैन।’
ओलीले आफूलाई तानाशाह भनेकोमा पनि जवाफ दिए, ‘मलाई तानाशाह भनेछन्। मतपत्र च्यात्ने, वत्ती निभाउने, दुई दुई पटक हारेर प्रधानमन्त्री हुने र प्रतिस्पर्धा नगरेर सत्ता पुग्न खोज्नेहरु लोकतन्त्रवादी म चाँही चुनाव जितेर पार्टी कमिटीमा जितेर आउने चाहीँ तानाशाही।

फेसबुकबाट तपाईको प्रतिक्रिया