आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदै
२५ कार्तिक २०७७, मंगलवार ०९:०५
काठमाडौं । समाज सुधारकका रूपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज (मंगलबार) किरात धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउँदैछन् ।
नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणासमेत गरेको लिङ्देनका जन्मस्थानमा जयन्तीका दिन विशेष पूजासहितका कार्यक्रम राखिने गरिन्थ्यो । तर, यो वर्ष कोरोना महामारीका कारण सामान्य पूजा र कार्यक्रम मात्र गर्ने तयारी गरिएको छ । किराँतीहरूले फाल्गुनन्दलाई महागुरुको रूपमा पुज्ने गरेका छन् ।
फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते आइतबार हालको प्रदेश १ को इलामस्थित माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो । फाल्गुनन्दले समाज सुधारमा महत्वपूर्ण योगदान दिएका छन् । उनले किरात धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन शुरुआत गरेका थिए ।
२००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैंगिक समानताको पनि वकालत गरेको मानिन्छ ।
त्यस्तै लिङ्देनको जन्मजयन्ती परेकाले मंगलबार प्रदेश १ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमलबहादुर थापाले फाल्गुनन्द दिवसको दिन प्रदेश भरी बिदा दिने निर्णय गरेको प्रदेशको राजपत्रमा नै उल्लेख गरिएको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया