बाटो तथा नाला निर्माणमा उपभोक्ता समितिले एकलौटी गरे – Nagarikabhiyan : National News

बाटो तथा नाला निर्माणमा उपभोक्ता समितिले एकलौटी गरे

 

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ३ मा बाटो तथा नाला निर्माणमा उपभोक्ता समितिले एकलौटी गरेको भन्दै स्थानीयले एकरुपताका साथ काम गर्नुपर्ने माग गरेका छन् ।
बन्दाबन्दीका कारणले गत वर्ष आधा मात्रै काम सम्पन्न भएको इनरुवा ३ को अमिरीला यादवको घर अगाडी दक्षिण रोयल होटलसम्मको बाटो निर्माणमा अहिले पुनः बिबाद देखिएको छ ।
बाटो निर्माण उपाभोक्ता समितिका अध्यक्ष हरीकाजी कोईरालाले उपभोक्ताको नाममा काम लिएर स्थानीय ठेकेदार कम्पनीलाई सडक र नाला निर्माणको काम दिएर एकातिर मनोमानी र लापरबाही गरेको गुनासो सेलाउन नपाउदै एउटै बाटोमा दुई मापदण्डमा काम थालेकाले विरोध भएको छ । समितिले करिव ७० प्रतिशत काम गर्दा दुवैतिर पूर्व र पश्चितपेटीमा चौडाई २२ फिटमा बाटो र नाला निर्माण गरेकोमा समिति अध्यक्ष कोईरालाको घर अगाडी नाला तथा सडक निर्माणको काममा चौडाई १६ फीटमात्रै गरेकाले स्थानीयहरु विरोधमा उत्रेका छन् ।
उपभोक्ता समितिले आफुखुसी गरेकाले स्थानीयहरुले एकरुपता, गुणस्तर र छिटोछरितो काम गर्नुपर्ने माग गर्दै विरोधमा उत्रेको स्थानीयबासी तथा प्रिसियस स्कूलका प्रिन्सिपल ओमप्रकाश यादवले बताउनुभयो । समान काम गर्दा सबैलाई न्याय हुने र भविश्यमा पनि राम्रो हुने भएकाले उत्तर भएको २२ फिटमा बाटो र नाला निर्माणलाई सोही अनुसार समान हुनुपर्ने अडान राख्दै काममा अवरोध गरेको यादवले बताउनुभयो ।
गाउँमा बाटो बन्दा सबै खुसीका साथ नीजि जग्गा र बाटोको जग्गा मिलाएर २२ फिट दिएको तर समितिमा बसेका अध्यक्षले नै बाटो र नाला निर्माणको क्रममा आफ्नो घर अगाडी १६ फिट मात्रै दिने भएपनि स्थानीय आकोर्षित बनेको अर्का स्थानीय तथा शिक्षक नारायण साहले बताउनुभयो ।
गाउँटोलमा बाटोलाई समान रुपमा सम्पन्न गर्नुपर्ने र गुणस्तरीय काम हुनुपर्ने माग आफुहरुको रहेको अर्का स्थानीय मिश्रीलाल साहले बताउनुभयो ।
विगतमा पनि कोईरालाले वडाको बजेटमा आफुखुसी र जथाभाबी काम गर्दा सर्वसाधारणहरु विरोध जनाएका थिए । आईतबार विहान मात्रै एउटैबाटोमा दुई रित देखिएकाले स्थानीयहरुले सबैठाउँमा एकनासे काम हुनुपर्ने अडान लिएकाले निर्माण कार्य प्रभावित भएको छ ।
केहीस्थानीयले इनरुवा नगरपालिकाको मातहतमा रही विभिन्न सडक तथा नाला निर्माणमा चरम लापरबाही गरिरहेका गुनासो गरेका छन् । केहीसडक तथा नाला निर्माणअन्तर्गत केही खण्डमा उपभोक्ता समितिले ठेकेदारलाई नियमविपरीत मनोमानी तरिकाले काम दिएकाले त्यसमा गुणस्तर समेत नभएको दावी गरेका छन् ।

उपभोक्ता समितिका सचिव घनश्याम सेठीले सबैठाउँमा एकनासे काम नहुदाँ केही समस्या भएको प्रतिकृया दिनुभयो । बाटामा भएको कामको बारेमा र माथि २२ फीट र तल १६ फीटको सवालमा आफुलाई थाहा नभएको दावी गर्नुभयो ।
यता बाटो उपभोक्ता समितिका अध्यक्ष हरीकाजी कोईरालाले सबैठाउँमा एकनासे काम नभएको स्विकार गर्दै सहमतीमा नै माथि २२ फीट र सेठीको घरदेखी तल १६ फीटको बाटो निर्माण हुने गरी नाला बनाउने काम थालेको दावी गर्नुभयो । सोही काममा असन्तुष्टी जनाउदै स्थानीयले काममा रोक लगाएको प्रतिकृया दिनुभयो । कोईरालाले सहमती गरेर अगाडी बढ्ने समेत बताउनुभयो । अहिले २२ फीटमा काम गर्दा केहीको नीजी जाग्गा जाने भएकाले कम गरेर काम सुरु गरेको दावी गर्नुभयो ।
यहाँ करिब ३५ लाख रूपियाँ लागतमा काम भईरहेको अध्यक्ष कोईरालाको भनाई छ । काम सुरु गरेदेखि नै स्थानीयहरूले गुणस्तरहीन काम गरेको भन्दै विरोध जनाउँदै आएका थिए । त्यसमा फेरी क्षेत्र घटाई काम जारी राखेको स्थानीयको आरोप छ ।

१, सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ मा पक्षपाती काम गरेको भन्दै अवरोध गरेको बाटो ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा