बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ, बलात्कारीलाई के छ कानुनी सजाय ? – Nagarikabhiyan : National News

बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ, बलात्कारीलाई के छ कानुनी सजाय ?

नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेकाे आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका-४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका  ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको अधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएको उनले बताए ।

बलात्कारीलाई के छ कानुनी सजाय ? नयाँ मुलुकी ऐनको बलात्कारसम्बन्धी दफा २१९ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र पीडितको महिलाको उमेर हेरी दण्ड–सजायको व्यवस्था गरिएको छ । जसअनुसार,
–१० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म कैद,
–१० वर्षदेखि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्ष देखि १६ वर्षसम्मको कैद,
–१४ वर्ष वा १४ वर्षभन्दा बढी, १६ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद,
–१६ वर्ष वा १६ वर्षभन्दा बढी, १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद,
–१८ वर्षभन्दा बढी उमेरकी महिला भए पीडकलाई ७ वर्षदेखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ ।