कोशी टप्पुमा पशु चौपाया हत्या गरेको विरोध – Nagarikabhiyan : National News

कोशी टप्पुमा पशु चौपाया हत्या गरेको विरोध

सुनसरीको कोशी टप्पु बन्य जन्तु आरक्षमा स्थानीयको गाई र भैसी सहितको चौपायाको हत्या भएको भन्दै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले विरोध गर्नुभएको छ । एकसता अघि कोशी टप्पु बन्य जन्तु आरक्षमा त्यहाँ सुरक्षार्थ खटिएका नेपाली सेनाले स्थानीयको गाई र भैसी सहितको दुई दर्जन चौपायाको हत्या गरेको किसानको गुनासो आएको भन्दै त्यसको कोशी गाउँपालिकाका अध्यक्ष अंसारीले विरोध गर्नुभएको हो । मंगलबार पत्रकार सम्मेलको आयोजना गरि अध्यक्ष अंसारीले आरक्षको सुरक्षा गर्ने नाममा राष्टिय जनावर गाई र किसानको आय आर्जनको स्रोत रहेको भैसीलाई एकसाथ गोली हानी हत्या गरेकोले त्यसको छानवीन गरि दोषी माथि कार्वाही किसानलाई उचित क्षती पुर्ती दिनुपर्ने माग गर्नुभयो । आरक्षले आरक्षमा छाडा पशु चौपायाको समस्या समाधान गर्ने नाममा किसानको गाईभैसी मारेको अध्यक्ष अंसारीको आरोप छ । वहाँले छाडा पशु चौपाया नियन्त्रण गर्न पूर्व सूचना दिनुपर्ने र अटेर गरेको खण्डमा किसानलाई राखेर समाधान गर्नुपर्नेमा राज्यको प्रतिनिधिबाटै भएको गाई र भैसी सहितको चौपायाको हत्याको घटनाको निन्दा पनि गर्नुभयो । वहाँले पशु अधिकारकर्मीहरु र राष्टिय जनावरको रक्षाको नाममा काम गर्नेहरुलाई समेत यस घटनामा ध्यान दिन आग्रह गर्नुभयो । आरक्षका संरक्षण असोक रामले छाडा चौपायाका कारण आरक्षमा समस्या रहेको भएपनि कोही कसैको पशुलाई मार्ने काम नभएको दावी गर्नुभएको छ । रामले कोशीको मगर गोहीले केही पशुलाई टोकेर मारेको जानकारी आफूले पाएको प्रतिकृया दिनुभयो ।

आफूहरुले बर्ष अघि देखि नै छाडा पशु चौपाया नियन्त्रण गर्ने प्रयास गरेको भएपनि नसकिएको बताउनुभयो । यता किसान मन्टु यादवका अनुसार आरक्ष क्षेत्रमा चरीचरणका लागि पसेको भैसी मध्ये कोशी गाउँपालिकाका ६ श्रीपुरका बलदेव यादवको पाँच थान भैसी, इनरदेव यादवको तीन थान भैसी, कृष्णदेव यादवको दुई थान भैसी, अरुण यादवको दुई थान भैसी, राजो खेरवारको दुई थान भैसी र नविन यादवको एक थान भैसी सहित आसपास क्षेत्रका दुई दर्जन चौपायाको हत्या भएको छ । हत्या गरेको किसानको गुनासो सहित कोशी अध्यक्ष अंसारीलाई जानकारी गराएको यादवले बताउनुभयो ।