प्रहरी हिरासत मृत्युको छानविन समिति अनुगमनमा – Nagarikabhiyan : National News

प्रहरी हिरासत मृत्युको छानविन समिति अनुगमनमा

गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठन गरेको छानबिन समितिले सुनसरीमा अनुगमन गरेको छ । सो छानबिन समितिले यही असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका हकिम साले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्न आईतबार अनुगमन गरेको हो । गृह मन्त्रालयले एकसाता अघि गठन गरेको समितिले आईतबार जिल्ला प्रहरी कार्यालयको घटना स्थल, घटनासंग सम्बन्ध पक्षहरुसंग सोधपुछ , सिसिटिभि अवलोकन र जनप्रतिनिधिहरुसंग जानकारी लिएको जनाएको छ । टोलीले अनुसंधानका क्रममा रहेकाले सबै कुरा प्रतिबेदनमा आउने र अहिले प्रारम्भिक जानकारी लिने काम मात्रै गरेको जनाएको छ । सरकारले देशका विभिन्न कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी उक्त समिति गठन गरिएको थियो ।
टोलीले प्रहरीका अधिकारीहरुसंग , पीडितका बुबा , दाजु, सम्बन्धीत पालिकाका वडा अध्यक्ष, गाउँपालिकाका अध्यक्षहरुसंग समेत सोधपुछ गरेर जानकारी लिएको छ भने पोष्ट मार्टम रिर्पोटको प्रारम्भिक रिपोर्टको बारेमा पनि जानकारी लिएको स्रोतले जनाएको छ ।