मान्छे पासो लागेको डोरी महँगोमा बिक्री हुन्छ भन्दै सुनाकोठीमा महिलाको हत्या – Nagarikabhiyan : National News

मान्छे पासो लागेको डोरी महँगोमा बिक्री हुन्छ भन्दै सुनाकोठीमा महिलाको हत्या

काठमाडौं ।  काठमाडौं उपत्यकाभित्रै एक अनौंठो हत्याको घटना बाहिर आएको छ । मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा तीन जनाको समूहले एक महिलाको ज्यान लिएको छ । डोरी बिक्री गरेर लाखौँ कमाउने लोभमा महिलाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर छन् । महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले भदौ २५ गते बिहान भएको उक्त हत्याकाण्डमा संलग्न तीन जनालाई असोज २१ र २२ गते पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।