लोकसेवा आयोगको कर्मचारी भएको भन्दै ठगी गर्ने एक पुरुषलाई पक्राउ – Nagarikabhiyan : National News

लोकसेवा आयोगको कर्मचारी भएको भन्दै ठगी गर्ने एक पुरुषलाई पक्राउ

सुनसरीको धरानबाट सरकारी कागजात किर्ते गरी आफु लोकसेवा आयोगको कर्मचारी भएको भन्दै ठगी गर्ने एक पुरुषलाई पक्राउ गरिएको छ । स्थानीयहरुलाई सरकारी जागिर लगाईदिने लोभ देखाउने गरेको र आफु लोकसेवा आयोगको कर्मचारी भएकोले सरकारी जागिर लगाईदिने भनि सर्वसाधरणलाई गढी गर्ने महोत्तरीको पशुपतिनगर–४ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ५ तल्लो देउरालीका दिपक लिम्वुको घरमा डेरा गरी बस्ने ५२ वर्षिय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेले आफु लोकसेवा आयोगको कर्मचारी भएकोले सरकारी जागिर लगाईदिने भनिसर्वसाधरणलाई लोभ देखाउने गरेको, सरकारी नोकरी लगाउनका लागी भनी लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो वापत मोटो रकम लिए पश्चात लेनदेन प्रकृतीको कागज बनाई झुक्याई ठगी गरेको किटानी जाहेरीको आधारमा भदौ २३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामिछाने बस्दै आएको डेरा कोठा खानतलासी गर्दा निजको डेरा कोठाबाट सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप थान –१, लोकसेवा कार्यालय कमल पोखरी काठमाण्डौ लेखेको रवरको छाप थान –१ , गोप्य लेखेको रवरको छाप थान –१ , जिबछ लामिछाने समेत लेखेको रवरको छाप थान –१ , नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप थान –१ , प्रहरी निरीक्षक लेखेको रवरको छाप थान –१, उपसचिव लेखेको रवरको छाप थान–१, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप थान –१, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप थान –१ , शाखा अधिकृत लेखेको छाप थान –१ लगायत सो सम्बन्धित बिभिन्न कागजातहरु फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । लामिछानेलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको काकीले बताउनुभयो ।