वीरगन्जबाट ५ किलो चाँदीका गहनासहित एक जना पक्राउ – Nagarikabhiyan : National News

वीरगन्जबाट ५ किलो चाँदीका गहनासहित एक जना पक्राउ

वीरगन्ज । भारतबाट अवैध रुपमा चाँदीका गरगहना लिएर वीरगन्जतर्फ आउँदै गरेका एक व्यवसायीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाको टोलीले बुधबार बिहान करिब साढे ८ बजेको समयमा सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्जतर्फ आइरहेका ४३ वर्षीय अंगत साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो । साहले बोकेको कालो रंगको ब्याग चेक गर्दा ५ केजी ३३४ ग्राम चॉदीका तयारी गरगहनाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार सप्तरीको राजविराज उपमहानगरपालिका– २ मेघरा निवासी साहले हाल चितवनको खैरेनी नगरपालिका– २ मा श्रीया ज्वेलर्स सञ्चालन गरेका छन् । तयारी गरगहनाहरु भारतबाट भित्रिँदै छन् भन्ने सूचनाको आधारमा प्रहरीले विशेष निगरानी बढाएको थियो ।

राजश्व छली चोरी पैठारी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । आवश्यक कारवाहीका लागि साहलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने खनालले जनाए ।