स्वास्थ्यचौकीमै सुरक्षित सुत्केरी
३ श्रावण २०७८, आईतवार ११:४२
बागलुङ । गलकोटस्थित हटिया स्वास्थ्यचौकीमा वर्षमा डेढ सय जनाभन्दा बढी सुत्केरी हुन आउँछन् । यति धेरै सुत्केरी हुने जिल्लाकै एक्लो स्वास्थ्यचौकी तह भए पनि यहाँ सुरक्षित सुत्केरीका लागि सामग्री र उपकरण अभाव थियो । ल्याब थिएन । भिडियो एक्सरे गर्न ५० किमि टाढा सदरमुकाम आउनुपर्थ्यो । स्थानीयले पटकपटक स्वास्थ्य सेवा विस्तार र उपकरण जडान गर्न माग गर्दै आएका थिए ।
यस्तै समस्या तमानखोलाको बोङगादोभान, निसीखोलाको झिंवाखोला स्वास्थ्यचौकी र ढोरपाटन नगरको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत थियो । ‘बिरामी राख्ने बेडमा सुत्केरी गराउनुपर्थ्यो, अहिले सुविधासम्पन्न बेड आएको छ,’ हटिया स्वास्थ्यचौकीका प्रमुख डिलु सुवेदीले भने । स्वास्थ्य चौकीमा फेयरमेड फाउन्डेसन र यहाँको बीवाईसीले लाखौं रुपैयाँ बराबरको सामान सहयोग गरेको हो । फाउन्डेसनले झन्डै १ लाख रुपैयाँ पर्ने सुत्केरी बेडसहित ५० लाख रुपैयाँ बढीको सामान सहयोग गरेको सुवेदीले बताए ।
यस्तै बर्थिङ सेन्टरलाई आवश्यक पर्ने भिडियो एक्सरे, माइक्रोस्कोप, ल्याबका लागि सबै प्रकारका उपकरण र रगत परीक्षण गर्ने मेसिनसमेत सहयोग गरेको हो । सुत्केरी गराउनेसहित सबै सामान पकाउने विद्युतीय मेसिन, शिशु जन्मेपछि राख्ने ‘वेवी वार्मर’ मेसिनसमेत स्वास्थ्यचौकी तहमा पुर्याइएको हो । भिडियो एक्सरेका कारण बच्चाको अवस्था थाहा पाउन सदरमुकाम जानुपर्ने बाध्यता हटेको सुवेदीले बताइन् । रगत, दिशा पिसाबसहित सुगरको परीक्षणसमेत स्वास्थ्यचौकी तहमै व्यवस्था भएको छ ।
यस्तो सेवा दुदिलाभाटी, नरेठाँटी, पाण्डवखानी लगायतका स्वास्थ्यचौकीमा पनि छ । फाउन्डेसनले जिल्लाका ६ पालिकाका अधिकांश स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना र सुरक्षित सुत्केरीका लागि चाहिने सामान दिएको हो । गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, तमान, निसी र बरेङ गाउँपालिकामा सहयोग बढाएको छ । ‘एउटा स्वास्थ्य संस्थामा अपरेसनबाहेकका सबै सेवा पाउने व्यवस्था बनाएका छौं,’ कार्यक्रम व्यवस्थापक गणेश बरुवालले भने, ‘बच्चाको मुखमा फोहोर जमेर पनि मृत्यु हुने खतरासमेत टरेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया