वनका कर्मचारी र पत्रकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
६ असार २०७८, आईतवार ११:२९
देवानगंज । वनका कर्मचारी र पत्रकार हुँ भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेका छन् ।
वनको कर्मचारी र पत्रकार हौँ, कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् अन्यथा तपाईँहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनेर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका दधिराम चौहानको साथबाट २५ हजार ९ सय ९५ नगद र पुष्पप्रसाद सिग्देलको साथबाट ७ हजार नगद बरामद भएको उनले बताए ।
शुक्रबार साँझ ६ बजेतिर मोरङको रतुवामाई नगरपालिका–१० बाट इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड, चन्दा उठाएको रकम अभिलेख भएको डायरी, कान्तिपुर पोष्ट, जनमत साप्ताहिक र बराह साप्ताहिकबाट जारी भएको परिचय पत्र बरामद भएको छ । बरामद भएका पत्रकार परिचय पत्रहरूकाे म्याद नरहेकाे प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार लामो समयदेखि यस कार्यमा उनीहरूको संलग्नता देखिएको छ । काठ मिल तथा फर्निचरको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताउँदै डिएसपी राईले ठगी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया