रक्सी चोरेको आरोप लागेपछि असईसहित तीन प्रहरी निलम्बित – Nagarikabhiyan : National News

रक्सी चोरेको आरोप लागेपछि असईसहित तीन प्रहरी निलम्बित

जनकपुरधाम। सिराहामा रक्सी चोरेको आरोपमा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए। निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन्।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको प्रवक्ता शर्माले बताए। गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए।

त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो। विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलोचित हुनुपर्ने अवस्था देखिएकोले उनीहरुलाई निलम्बन गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए।

लोकपाटी न्यूजबाट