बिराटनगरमा कोरोनाबाट एकैदिन ६जनाको मृत्यु
१० जेष्ठ २०७८, सोमबार ११:४५
विराटनगर । मोरङमा कोरोना भाइरस संक्रमित छजनाको सोमबार बिहान मृत्यु भएको छ । एकजनाको होम आइसोलेसनमा र पाँचजनाको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् ।
सुन्दरहरैँचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६:३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । परीक्षण गराउँदा जेठ ५ गते कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि घरमै बसेकी वृद्धाको स्वास्थ्यमा समस्या भएर होम आइसोलेसमै मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
\
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको बिहान ६ बजेतिर मृत्यु भयो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना पुष्टि भएकी महिलालाई उपचारका लागि वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै विराटनगर–३ का ८० वर्षीय वृद्धा पुरुषको पनि विराटमै मृत्यु भएको छ । देवका अनुसार वृद्धाको मृत्यु बिहानका राति १:५० बजेतिर भएको हो । उनलाई उपचारका लागि जेठ ८ गते अस्पताल भर्ना गरिएको थियो ।
विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय संक्रमितको मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए । उनका अनुसार मृतकलाई उपचारका लागि जेठ ३ गते भर्ना गरिएको थियो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार महिलालाई उपचारका लागि वैशाख ३१ गते भर्ना गरिएको थियो । धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्ध पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको मृत्यु बिहान ४:१५ बजेतिर भएको दाहालले बताए । उनका अनुसार वृद्धलाई उपचारका लागि जेठ ३ गते अस्पताल भर्ना गरिएको थियो । किशोर बुढाथोकी

फेसबुकबाट तपाईको प्रतिक्रिया