अध्यक्ष यादव भएन धरौटीमा रिहा , पूर्वपक्षका लागि थुनामा गए
३ जेष्ठ २०७८, सोमबार १८:१०
सुनसरीको इटहरी उपमहानगरपालिका ४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वैशाख ८ गते पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई थुनामा राख्न आदेश दिएको छ । यादव विरुद्ध सुनसरी जिल्ला अदालतमा आइतबार जबरजस्ति करणी मुद्दा दर्ता भएकोमा सोमबार भएको थुनछेक बहस पछि यादवलाई थुनामा राख्न आदेश दिएको छ । सुनसरी जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोख्रेलका अनुसार मुद्दा आईतबारै दर्ता गरिएपनि समय अभावका कारण अभियुक्तको बकपत्र गर्न नसकिएकोमा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार बकपत्र गर्ने काम र बयान सकिएपछि यादवविरुद्दको मुद्दामा थुनछेक बहस भएको हो । त्यसमा थुनामा राखेर मुद्धाको किनारा लगाउने गरी कारागार चलान भएको स्रेस्तेदार पोख्रेलको भनाई छ ।
वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवत्ता नारायण रिमालले बहस गर्नुभयो भने प्रतिवादी यादवको तर्फबाट वरिष्ठ अधिवत्ता सुरेशलाल श्रेष्ठ, दिपक काफ्ले, शंकर पोखरेल, प्रेम प्रसाद पोखरेल र पञ्चदेव मेहता लगायतकाले वकालत गर्नुभयो । दुवै पक्षको बहस सुनेपछि यस्तो आदेश दिएको हो । सुनसरी जिल्ला अदालत ६ नम्बर इजलासका न्यायधिश टिकेन्द्र दाहालको इजलासले यो आदेश दिनुभएको हो ।
किशोरीलाई धरानस्थित डुकु होटलमा लगी अध्यक्ष यादवले वैशाख ८ गते जबरजस्ति करणी गरेको भन्दै पीडित किशोरीकी आमाले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता गराउनुभएको थियो । पीडितकी आमाको जाहेरीकै आधारमा इप्रका धरानले अध्यक्ष यादवलाई गिरफ्तार गरी जबर्जस्ति करणी अभियोगमा अनुसन्धान सुरु गरेको थियो ।
यता पीडित भनिएकी जाहेरबालीले विपक्षी यादवले बलात्कार नगरेको खाजा खान धरान गएका बेला अध्यक्ष यादवसँग भेटघाट मात्र भएको प्रतिकृया दिनुभयो । सुरुमा बलात्कार भनेको तर यथार्त बुझ्दा करणी नभएको जिकिर पीडितकी आमाले गर्नुभएको छ । थुनछेक बहसपछि अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया