अटेरी विराटनगरका शैक्षिक संस्था,मौन प्रशासनः मान्दैनन् सरकारको निर्देशन ! – Nagarikabhiyan : National News

अटेरी विराटनगरका शैक्षिक संस्था,मौन प्रशासनः मान्दैनन् सरकारको निर्देशन !

विराटनगर। कोरोना भाइरस (कोभिड–१९) बाट अतिप्रभावित जिल्लामा पर्ने मोरङको विराटनगर क्षेत्रका विद्यालय बन्द गराउन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको आग्रहलाई विद्यालय सञ्चालकले अवज्ञा गर्ने प्रयास गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय उल्लङ्घन गर्दै विराटनगरको कलेज सञ्चालनमा आएका हुन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढेको भन्दै बैशाख मसान्त सम्म देशका प्रमुख शहरमा विद्यालय, कलेज, टियुसन सेन्टर र तालिम केन्द्रहरु बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय उल्लङ्घनगर्दै विराटनगरमा भने कलेज  सञ्चालनमा आएका हुन् ।

यता संघीय सरकारले कोरोना भाइरसबाट अति प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय सोमबार गरेपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा निर्धक्क भएर बसेको देखिन्छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
विराटनगरको मेरील्याण्ड, अरनिको ,हिमालय दर्शन लगायतका कलेज भने अटेरी गर्दे लगातार सञ्चालनमा छन् ।
यता जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला भने पर्ख र हेरको नितिमा रहेको बुझिएको छ । विद्यालयमा कोरोना फेला परेपछि मात्र कदम चाल्ने मुडमा उनी देखिएका हुन । जेनवान न्यूजसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले ठिकै छ, हेर्दै जाउँ के हुन्छ भन्ने प्रकारका प्रतिक्रीया दिएका थिए ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।