भेरी अस्पतालमा थप १०६ जनामा कोरोना पुष्टि ,जमुना नाकामा नौ जना – Nagarikabhiyan : National News

भेरी अस्पतालमा थप १०६ जनामा कोरोना पुष्टि ,जमुना नाकामा नौ जना

प्रिती शर्मा इनरुवा । बाँकेको भेरी अस्पतालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका एक सय ९० वटा नमुनामध्ये १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले कोरोना पुष्टि भएका अधिकांश बाँकेका जनाएको छ । जिल्लामा केही दिनयता दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेका छन् ।

नाकामा मात्र २५ जना कोरोना पोजिटिभ देखिएका छन् । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९४ जनाको मृत्यु भइसकेको तथ्यांक छ ।

शुक्रबार मात्रै भेरी अस्पतलामा १८३ वटा नमुना परीक्षण गर्दा १२७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेकोमा शनिबार ५५.८ प्रतिशत देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

जमुनाह नाकामा नौ जनामा संक्रमण पुष्टि
नेपालगञ्जको जमुनाह नाका भएर भारतबाट फर्किएका थप ९ जनामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार विहान गरिएको एन्टिजेन परीक्षणमा नौ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
तीमध्ये सुर्खेतका पाँच जना, बाँके, दाङ र जाजरकोटका एक÷एक जना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
योसँगै भारतबाट फर्किएका २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका संक्रमितलाई ह्वाइट हाउस आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको फोकल पर्सन ओलीले बताउनुभयो ।
उता, भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ५५ हजार ७६७ नमुना परीक्षण सम्पन्न गरिएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका अनुसार हालसम्म परीक्षण भएका नमुना मध्ये ६ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण तिब्र रुपमा फैलिँदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यसको नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ ।
साँझ ७ बजेपछि रेष्टुरेन्ट, क्लबहरु बन्द गर्न केन्द्रले अपिल गरेको छ । मनोरन्जन स्थलहरु, फनपार्क, सिनेमा हल लगायत पनि बन्द गर्नुपर्ने निर्णय गरिएको छ ।