कोरोना खोप चाँडै ल्याउने तयारी : मन्त्री त्रिपाठी
२८ पुष २०७७, मंगलवार १२:४१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरूद्धको खोप प्राप्तिका लागि सरकारले विभिन्न मुलुकसँग पहल गरिरहेको बताएका छन्।
भारत, रूस र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी गरिएको बताउँदै उनले सक्दो चाँडै नेपालमा खोप ल्याइने जानकारी दिए। ‘खोप अभियानका रूपमा सञ्चालन गर्ने तयारी छ। प्राप्तिदेखि लगाउनेसम्म अभियान सञ्चालन गर्ने हो,’ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘छिमेकी देशहरूमा खोप आइसक्यो हामीले कहिले पाउने भन्ने चिन्ता देखिएको छ। समाचारहरू पनि आएका छन्। हामी छिट्टै खोप ल्याउँछौं।’
अन्य सामग्रीजस्तो खोप ल्याउन सहज भने नरहेको उनले बताए। ‘खोपको प्राप्ति अन्य व्यवसायिक चिजजस्तो रहेनछ यो राजनीतिक सामग्री हुन पुगेको छ। केही निश्चित देशमा यसको विकास र आपूर्ति गर्न सक्ने अवस्था छ,’ उनले भने, ‘सरकारले ती देशका सरकारसँग निकटम सम्बन्ध राखेर खोप प्राप्तिका लागि पहल गरिराखेको छ।’
उनले खोप ल्याएपछि भण्डारण र खोप लगाउने जनशक्तिलगायत आन्तरिक व्यवस्थापनको काम अब धेरै बाँकी नरहेको पनि बताएका छन्। खोप प्राप्तिका लागि हरेक सम्भावनालाई सरकारले अगाडि बढाइरहेको उल्लेख गर्दै त्रिपाठीले खोप खरिद पारदर्शी हुने पनि प्रतिवद्धता जनाएका छन्।
‘सरकारले पनि खरिद नगर्ने निजी क्षेत्रलाई पनि खोप खरिद गर्न नदिने गरेजस्तो गरेको भन्ने खालका आलोचना भएका छन्,’ उनले भने, ‘सकेसम्म सरकारले अरू देशका सरकारसँग नै समन्वय गरी खोप प्राप्तिका लागि काम गर्छ। खरिद प्रक्रियामा निजी क्षेत्रलाई पनि पर राख्दैनौं।’
खोप ल्याएपछि पहिले स्वास्थ्यकर्मीलाई लगाइने र त्यसपछि ५५ वर्षमाथिका रोगबाट पीडितलाई लगाइने जानकारी दिदै मन्त्री त्रिपाठीले खोप खरिदका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भइसकेको र कानुनी अड्चनसमेत हल भइसकेको बताए । देशभर रहेका १६ हजार खोप केन्द्र व्यवस्थापन र परिचालन गरिने उनले बताए ।द नेपालटप

फेसबुकबाट तपाईको प्रतिक्रिया