लकडाउन लम्बिँदै गए एसईई परीक्षा अर्कै तरिकाले गरिने, यस्तो छ विकल्प ! – Nagarikabhiyan : National News

लकडाउन लम्बिँदै गए एसईई परीक्षा अर्कै तरिकाले गरिने, यस्तो छ विकल्प !

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म मात्रै प्रतिक्षा गरिने भएको छ ।

लकडाउनका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ ।

स्थगित परीक्षाबारे बुधवार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औंल्याइएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार सहभागीले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठभित्रसम्म कुर्न आग्रह गरेको जानकारी दिए । जेठमा परीक्षा लिन सकेको अवस्थामा पनि उत्तरपुस्तिका संकलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई द्रूतगतिमा गरेर विद्यार्थीको शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने उनले बताए ।

बोर्डले विगतका वर्षमा साउनबाट मात्रै कक्षा ११ को शैक्षिक सत्र सुरू गर्ने गरेको थियो । यसका साथै भदौमा एसईईको मौका परीक्षा सञ्चालन गरेर ती विद्यार्थीलाई समेत भर्ना गर्दा दशैंको हाराहारी पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुने गरेका थिए । यस हिसाबले हेर्दा विद्यार्थीको पढाइमा धेरै असर नपारेको परीक्षा नियन्त्रक खकुरेलले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कोराना संक्रमण लामो समयसम्म कायम रहेको अवस्थामा माध्यमिक तहको परीक्षा लिने प्रणालीमा नै परिवर्तन गरी विकल्प खोजिने भएको छ । हाल बोर्डले नै एसईईका साथै कक्षा ११ र १२ को वार्षिक परीक्षा लिने कानुनी प्रावधान रहेको छ । यो प्रावधानलाई परिवर्तन गरेर प्रदेश, जिल्ला या विद्यालय तहलाई नै जिम्मा दिने खालको विकल्प हुन सक्ने जनाइएको छ तर यसबारेमा छलफल मात्रै सुरू गरिएको बताइएको छ । बोर्डले नयाँ कानुनी प्रावधान परिवर्तन गर्नुपरेको अवस्थामा मन्त्रालयलाई लिखित विकल्प सुझाउने जनाइएको छ ।

छलफलमा सहभागी नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले स्थगित एसईई परीक्षा सञ्चालनका लागि जेठसम्म कुर्न सबैले सुझाव दिएको बताए । कक्षा ११ र १२ को परीक्षा भने भदौभित्र हुन सकेपनि फरक नपार्ने आकलन गरिएको छ ।

महासंघले कक्षा १० को परीक्षा विद्यालयले नै गर्ने गरी जिम्मा दिन तथा शिक्षक, प्रधानाध्यापकलाई विश्वास गर्न सुझाव दिएको छ । यसका साथै परिस्थिति हेरेर हिमाल, पहाड र तराईमा अलग–अलग समयमा परीक्षा गर्ने हिसाबले समेत सोच्नुपर्ने सुझाव महासंघको रहेको छ । महासंघले यसका लागि कानुनी हिसाबले तयारी गर्न समेत केन्द्रलाई सुझाव दिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

चैत ६ गतेबाट एसईई सुरू गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । यसका साथै वैशाख ८ देखि कक्षा १२ र वैशाख २१ देखि कक्षा ११ को परीक्षा गर्ने तयारी समेत बोर्डको थियो ।