बलाहामा सामूहिक हनुमान चालिसा पाठ
१४ जेष्ठ २०७९, शनिबार १८:१९
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई असल र सुशासनमैत्री काम गर्नका लागि सामुहिक रूपमा हनुमान चालिसा पाठ गराइएको छ । इनरुवा ५ बलाहाको स्थानीय शर्वेश्वर शिव मन्दिरमा शुभारम्भ मासिकको तर्फबाट सामूहिक रूपमा हनुमान चालिसा पाठ गर्दै असल, जनमैत्री र सुशासनमैत्री काम गर्नका लागि शुभकामना दिएको छ । मन्दिरका पूर्व अध्यक्ष लेखनाथ पोखरेल, सह प्राध्यापक तथा कार्यक्रमका अध्यक्ष भगतप्रसाद भण्डारी, धार्मिक समाजसेवीहरु जेष्ठ नागरिक तथा इनरुवाका मेयर एवम् नेपाली काङ्ग्रेस सुनसरी सभापति केदार भण्डारीकी आमा धर्मशिला भण्डारी, समाजसेवी जेष्ठ नागरिक तुलसी प्रसाद दुलाल, नेकपा एमालेका जिल्ला सदस्य हरि पोखरेल, काङ्ग्रेसका पूर्ववडा सभापति, कलाधर पोखरेल लगायतले रुद्राक्षको माला लगाई सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित वडा अध्यक्ष अनिलकुमार पोखरेलले यस पुण्य मन्दिरमा हनुमान चालिसा वितरण र पाठ गर्दै आफूहरुलाई सम्मान गर्ने शुभारम्भ मासिक प्रति आभार व्यक्त गर्नुभयो । पोखरेलले आफूहरु इमानदारी पूर्वक जनसेवामा लाग्ने र गलत काम नगर्ने भन्दै भ्राष्टाचार नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमका मासिकका अध्यक्ष सहप्राध्यापक भगत भण्डारीले जनप्रतिनिधिहरुलाई जनताको हित र भलाइमा लाग्न र यस मन्दिरको समेत संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य हरि पोखरेलले शुभकामना मन्त्व्य राख्दै धर्म संस्कृतिको सम्मान र संरक्षणमा पनि जनप्रतिनिधिले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । काङ्ग्रेसका वडा सचिब लेखराज निरौलाले पनि निर्वाचित प्रतिनिधिहरुलाई जनसेवाको कम गर्न आग्रह गर्दै बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधिहरुले उपस्थित सबैलाई हनुमान चालिसा बितरण गरेका थिए । कार्यक्रम पत्रकार दीपक निरौलाले संचालन गर्नुभयो । इनरुवा –५ मा काङ्ग्रेसबाट अध्यक्षमा अनिलकुमार पोखरेल र सदस्य नवीन दाहाल निर्वाचित भएका थिए भने एमालेबाट यामकुमार श्रेष्ठ,शारदा भट्टराई तथा सिर्जना बिक बिजयी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया