इनरुवामा अनलाईनबाट घर नक्सा पासको उद्घाटन – Nagarikabhiyan : National News

इनरुवामा अनलाईनबाट घर नक्सा पासको उद्घाटन

इनरुवा ।  तपाई इनरुवा नगर क्षेत्रमा घरको नक्सा पास गराउँदै हुनुहुन्छ? नक्सा पास गर्दा कागजी झन्झट बेहोर्नु भएको छ ?, कि कागजपत्र बोकेर हिड्दा हराउने भिज्ने समस्या भएको छ ? त्यसो हो भने चिन्ता नगर्नुस् अब घरको नक्सा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयर अर्थात अनलाईनबाट पास हुने भएको छ । तर यसको लागि तपाईको घर भने इनरुवा नगरभित्र हुनुपर्दछ ।

सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले आईतबारबाट नगर प्रमुख राजन मेहताले उद्घाटन गर्नुभएसगै नगरभित्रका १० वटै वडामा विद्युतीय नक्सा पास प्रणाली सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रममा उपप्रमुख जमुना गौतम पोखरेल, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौला सहित १० वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

नगरपालिकाले समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गर्न नगरपालिकाले यस्तो प्रक्रियाको थालनी गरेको हो । समयको मागअनुसार नक्सा पासको शैलीलाई बदलेका हौं । नगर नक्सा शाखाका विभागिय प्रमुख उमेश्वर मेहताले भन्नुभयो,’आईतबारबाट सबै वडामा सञ्चालन भएको छ ।’

विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्तिले घरमै बसेर काम गर्न सक्छ । स्वयम व्यक्ति आएर लाम बसिरहनु नपर्ने र फाईल बोकेर दौडिरहन नपर्ने भएकाले प्रभावकारी भएपछि नगरभरी सोही प्रणाली लागू गर्न लागिएको मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरु सुरक्षित रहने तथा नगरलाई पनि तथ्याङ्क राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुने छ ।
के हो अनलाइन नक्सा पास ?

इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरमा नक्सा पास गर्न कहाँ–कहाँ जाने भनेर ’अप्सन’ र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन् । ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ । इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई प्रोग्रामको ’युजर आईडी र पासवर्ड’ अनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, मालपोत तिरेको रसिद, नापीनक्साजस्ता घरजग्गामा सरोकार राख्ने कागजपत्र स्क्यान गरेर सबै फाइल ’एटयाच’ गरी पठाईन्छ ।

त्यसपछि डिजाइन डेस्कबाट डकुमेन्ट रजिस्ट्ेरसन डेस्कमा आइपुग्छन् । जसमा लालपुर्जा, जग्गाको कित्ता नम्बर लगायत इन्जिनियरले जाँच गर्छन् । यसपछि इन्जिनियरले टेक्निकल डेस्कमा पठाउँछन । जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भ

वनसंहिता पूरा गरेको नगरेको हेरिन्छ । सबै ठीक भएपछि ’एक्ज्युकेटिभ डेस्क’ मा पठाईन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ । यसपछि ’रेभिन्यु डेस्क’ हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भई वडा डेस्कमा जान्छ । वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टाँसगरी सँधियारको दाबीविरोध, प्राविधिकबाट नक्साअनुसारको फिल्डलगायत जाँच गरिन्छ । यी सबै प्रक्रिया पूरा गरी वडा डेस्कले अपलोड गरेर फेरि केन्द्रमा पठाइदिन्छ र त्यपछि नक्सा पास हुन्छ ।