पेस्तोल सहित दुई जना पक्राउ – Nagarikabhiyan : National News

पेस्तोल सहित दुई जना पक्राउ

सुनसरीको सीमावर्ती क्षेत्रमा दुई नाल पेस्तोल सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कोशी गाउँपालिका–१ लैकहीबाट दुई नाल एटोमेटिक पेस्तोल सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा भारतको विहार राज्य अररीया जिल्ला बासमतिया–६ का ३५ वर्षिय विद्यानन्द राम र सोही ठाउँका ३१ वर्षिय हसिम अन्सारी रहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । उनीहरुबाट दुई नाल पेस्तोलको साथमा ४ वटा म्यागजिन र ३ राउन्ड गोली समेत बरामद गरिएको थियो । बीआर ५० के ०१४९ नंम्बरको मोटरसाईकलमा दुई जना हतियार कारोबारी भारतीयहरु हतियार सहित नेपाल आउदैछन भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरुलाई पछ्याईरहेकोमा लौकही बजारबाट पक्राउ गरेको थियो । । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ६ को “हातहतियार तथा खरखजाना सम्वन्धी कसुर” मा जिल्ला अदालत सुनसरीबाट म्याद लिई थप अनुसन्धान भईरहेको जनाएको छ । यसैबीच अदालतबाट फैसलाका मुद्धाहरुको कार्यान्वायनमा प्रहरीले सक्रियता देखाएको छ ।
चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट फैसला भई सकेका विभिन्न मुद्दाहरुमा फरार रही वेरुजु कायम रहेका ५८८ जनालाई पक्राउ गरीएको जनाएको छ । फैसला कार्यान्वायनमा आफ्नो भूमिका प्रस्तुत गरेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । कार्कीले फरारीलाई पक्राउ गर्नुको मूख्य ध्येय भनेको अपराध गरेर जति नै भागे पनि कानुनको दृष्टीबाट लुक्न सकिदैन भनि सन्देश दिनु पनि भएको बताउनुभयो । वहाँले ५६७ जनालाई पक्राउ गरी अदालत पेस गर्दा १२० वर्ष ६ महिना ५ दिन कैद र २८ लाख २८ हजार ३०९।–रुपियाँ जरिवाना बेरुजु फर्छ्यौट भएको जानकारी दिनुभयो ।