नेवार समुदायले धुमधामका साथ मनाए यःमरी पुन्ही
४ पुष २०७८, आईतवार १५:३२
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आइतबार धुमधामका साथ यःमरी पुन्ही पर्व मनाएका छन् ।
हरेक तीस दिनमा एक पटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार मार्गशीर्ष शुक्ल पूर्णिमालाई धान्य पूर्णिमा भनिन्छ ।
नेपाल भाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ । यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ ।
यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको यःमरी खाने भएकोले योमरी पुन्हीले बढी चर्चित छ । देशभरका नेपाल भाषीहरु यःमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा यःमरी खान्छन् ।
यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ ।
त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया