संचारमाध्यममा समावेशिकरण आवश्यक ः विष्ट – Nagarikabhiyan : National News

संचारमाध्यममा समावेशिकरण आवश्यक ः विष्ट

नेपाल पत्रकार महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष रमेश विष्टले संचारमाध्यममा समावेशिकरण आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको धरानमा नेपाल पत्रकार महासंघले प्रकाशक तथा सम्पादकसंगको समावेशिकरण कार्यक्रममा विष्टले ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’का लागि संचारमाध्यममा समावेशिकरण आवश्यक रहेको बताउनुभएको हो । कार्यक्रममा लैङ्गिक समानता, समाजिक समावेशीकरण र नेपाली पत्रकारितामा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयका सवालमा अन्तरक्रिया गरिएको थियो । लैङ्गिक समानताका विषयमा उहाँले लैङ्गिताको अवधारणालाई पुरुष र महिलामा मात्र सिमित राख्न नहुने तर्क प्रस्तुत गर्नुभयो । वहाँले लैङ्गिक समानताका विषयमा विविधतामा ख्याल गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष विष्टले पत्रकारलाई विषयगत अध्ययनमा टेवा पु¥याउने उदेश्यस्वरुप प्रकाशक सम्पादकसंग आयोजना गरिएको अन्तरकृयाले लाभ मिल्ने विश्वस्त व्यक्त गर्नुभयो । पत्रकार महासंग १ नम्बर प्रदेशका सचिव देवेन्द्र कार्कीले लैङ्गिक समानता विषयमा नीतिगत अवधारणा ल्याउनुपर्ने बताउनुभयो । उहाँले जातीय, वर्गाीय, सामाजिक अवस्थालाई ख्याल गर्दै निर्भिक पत्रकारिताले सामाजिक समावेशीलाई अगाडि बढाउन मदत पुग्ने बताउनुभयो । पत्रकार पक्षधर नभई यर्थाथमा टिकिएको हुनुपर्नेमा जोड दिनुभयो । जवाफदेही पत्रकारिता आजको महत्व रहेको र्तक कार्कीको थियो ।
महासंघका केन्द्रिय सदस्य सरिता बराईलीले लैङ्गिक पहिचान, अभिमुखीकरण, लैङ्गिक समानता प्रक्रियाका आधारमा काम गर्नुपर्ने विषयलाई उठान गर्नुभयो । सामाजिक समावेशीकरण विषयमा बोल्दै बराईलीले पहिला सामाजिक बहिस्करणका विषयमा बुझ्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।
उहाँले स्रोतमा असमान पहुँच, असमान सहभागिता, अवसरबाट वञ्चितिकरण आधारमा सामाजिक बहिस्करणलाई अध्ययन गर्न सकिने बताउनुभयो । जसलाई प्रभाव पार्ने तत्वहरु लैङ्गिक, जातिय, भाषा, धर्म, शारिरिक अपांगता, भौगोलिकता, आर्थिक अवस्था भएको बताउनुभयो ।
पत्रकार तारा लामगांदेले समाजमा रहेका वञ्चित वर्गलाई समाजको मुल प्रवाहमा ल्याउनका लागि देखापर्ने अवरोधहरुलाई हटाई उनीहरुलाई संचारमाध्यममा ल्याई सामाजिक एवं विकासका कार्यमा सहभागी गराउने प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
केन्द्रिय सदस्य अमर खड्काले राजनीतिक, आर्थिक, सामाजिक सहभागिताका आधारमा पनि सामाजिक समावेशीकरणको सुनिश्चितता गर्न संचार माध्यमा समावेसी जरुरी रहेको बताउनुभयो ।
नेपाली पत्रकारितामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा बोल्दै पत्रकार जयकृष्ण यादवले नेपाली पत्रकारितामा समयसँगै क्रमिक सुधार आएको र संचारमाध्यममा पूर्ण समावेसीकरण जरुरी रहेको बताउनुभयो ।
पत्रकार मनिता चाम्लिगंले लैङ्गिक समानता र सामाजिक समावेशीकरणको विषयलाई पत्रकारिता मार्फत उठान गर्नुअघि संरचना, सवालता, सुधार र सवलीकरणका विषयमा पत्रकारले बुझ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पत्रकार योगेश काफ्लेले मिडियामा कनटेनमा समेत समावेसी गर्नुपर्ने र लिङग, वर्ण, क्षेत्र र वर्गका आधारमा महिलाका मुद्धालाई समाचारमा समावेश गर्न सकिने उल्लेख गर्नुभयो ।