आर्थिक वर्ष ०७७/७८ मा मात्रै लागुऔषध तस्करीमा संलग्न १ सय ७४ जना पक्राउ – Nagarikabhiyan : National News

आर्थिक वर्ष ०७७/७८ मा मात्रै लागुऔषध तस्करीमा संलग्न १ सय ७४ जना पक्राउ

पर्सा । पर्सामा लागुऔषध तस्करी बढेको प्रहरी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७७/७८ मा मात्रै लागुऔषध तस्करीमा संलग्न १ सय ७४ जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

गत आर्थिक वर्षमा चरेस १ सय ५३ केजी, गाँजा ७ सय ८६ केजी, हेरोइन ६९ ग्राम प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

०७६/७७ मा चरेस २८ केजी, गाँजा ६ सय २४ केजी र हेरोइन ४१ ग्राम बरामद गरेको थियो । ०७५/७६ मा चरेस ४ सय ५६ केजी, गाँजा ७ सय १७ र हेरोइन १ हजार ९ ग्राम प्रहरीले बरामद गरेको थियो ।

यसैगरी, प्रहरीले लागुऔषध अफिम गत वर्ष ८ केजी र ०७६।७७ तथा ०७५/७६ मा एक–एक केजी, फेनारगन ६४४४ पिस, ०७६/७७ मा ३०५३ र ०७५।७६ मा ३७६७ पिस बरामद गरेको जनाएको छ ।

लागुऔषध डाइजिल्याब गत वर्ष ७२५३ पिस, ०७६/७७ मा ३३६४ र ०७५/७६ मा ३८०५ पिस, नुर्फिन ७२३२ पिस, ०७६/७७ मा ३१११ र ०७५/७६ मा ३७१७ पिस, नाइट्रोभेट ट्याब्लेट ८८४१ पिस, ०७६/७७ मा ६०१२ र ०७५/७६ मा ८२४५ पिस प्रहरीले बरामद गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, गत वर्ष १०० एमएलको लागुऔषध कोरेक्स २०४९ बोतल, ०७६÷७७ मा ८३४ र ७५÷७६ मा ४०५ बोतल बरामद गरेको छ ।

यसैगरी, लागुऔषधसम्बन्धी विभिन्न कसुरमा गत वर्ष १ सय ३३ वटा मुद्दासमेत दर्ता गरेको खनालले बताए । उनले भने, ‘खुला सीमा र जनचेतनाको कमीले पनि लागुऔषध तस्करीमा वृद्धि भएको हो ।’