धनुषामा एक महिलाको शंकास्पद मृत्यु, हत्या भएको आशंका, ५ महिनाकी गर्भवती थिइन् उनी
१५ असार २०७८, मंगलवार १६:३१
जनकपुरधाम । धनुषामा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीनियाँ गाउँपालिका– ४, सपहीमा २३ वर्षीया प्रियङ्का पासवानको शव फेला परेको हो ।
प्रियङ्काको घाँटीमा डाम देखिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार प्रियङ्का र उनका श्रीमान् सन्तोष पासवानबीच गएराति विवाद भएको थियो । विवादकै कारण प्रियङ्काको हत्या वा आत्महत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
यद्यपि महोत्तरीको बलवा नगरपालिका– ५ बस्ने प्रियङ्काका बुबा विनोद पासवानले ज्वाइँले नै कुटपिट गरी छोरीको हत्या गरेको आरोप लगाएका छन् । उनका अनुसार प्रियङ्का पाँच महिनाकी गर्भवती थिइन् ।
‘पहिले पनि धेरै पटक कुटपिट गरेका थिए । मार्ने प्रयास पनि गरेका थिए ।जनकपुर प्रेसमा छ । राति झगडा गर्दै मेरी छोरीको घाँटी थिचेर मारेछन्,’ उनले भने ।
यद्यपि पोस्टमार्टम रिपोर्ट नआउञ्जेल हत्या वा आत्महत्या भएको भन्न नमिल्ने धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले बताए । उनका अनुसार प्रियङ्काका श्रीमान् सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘उनका श्रीमान्ले क्लियर कुरा भनिरहेका छैनन् । कहिले आफैँ झुण्डिएर मरेको भन्छन्, कहिले झुण्डिएको देखेपछि डोरी काटिदिएको भन्छन् त कहिले घरमै नरहेको भन्दैछन् । बयान फेरेको फेरै छन् । अहिले हामी घटनााको अनुसन्धान गर्दै छौँ,’ उनले भने ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डीएसपी मिश्रले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया