सीडीओको नक्कली फेसबुक आइडी बनाएर रकम असुली – Nagarikabhiyan : National News

सीडीओको नक्कली फेसबुक आइडी बनाएर रकम असुली

कञ्चनपुर। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नाममा फेसबुक अकाउण्ट खोलेर चन्दा असुली गरिएको खुलासा भएको छ ।

महतोको नाममा फेसबुक आइडी खोलेर आफू अस्पतालमा रहेकाले पैसा सहयोग मागिएको हो । उक्त आइडी नक्कली भएको र कसैले आफ्नो फेसबुक म्यासेन्जरबाट पैसा मागे रेस्पोन्स नगर्न भन्दै प्रजिअ महतोले सूचना जारी गरेका छन् । समस्यामा परेको भन्दै फेसबुकमा स्टाटस राखेको देखेपछि साथीहरुले के भएको भन्दै सोधेपछि आफूले थाहा पाएको महतोले बताए ।

‘अज्ञात व्यक्तिले मेरो तस्वीर राखी नक्कली फेसबुक अकाउण्ट खोलेको देखिन्छ । यस आइडीलाई ब्लक गर्नुहुन, फ्रेन्ड रिक्वेष्ट आएमा एसेप्ट नगर्नु हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्नु हुन अनुरोध गर्दछु,’ उनले सक्कली फेसबुक अकाउण्टमा लेखेका छन् ।

प्रजिअ महतोले जाली फेसबुक आइडी बनाएर ठग्न खोज्नेबारे अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको बताए । महतोका अनुसार ठगी गर्ने गिरोहले आफ्ना साथीहरुसँग २० देखि ३० हजार रुपैयाँ मागेको भेटिएको उल्लेख गरे । गुगल वा फोन पेबाट माग भएको उनले बताए । तर, उक्त नम्बर नेपाली नभएको जानकारी उनले दिए ।