नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन – Nagarikabhiyan : National News

नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

सुनसरीको कोशी गाउँपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेको छ । नागरिकलाई स्वास्थ्य राख्नका लागि सचेतना, परामर्श र आयुर्वेद स्वास्थ्य सेवा तथा औषधी उपचार सहित गर्ने गरि नागरिक आरोग्य सेवा केन्द्रको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले उद्घाटन गर्नुभएको छ ।
यहाँका सरोकारबालाहरुसंगको अनौपचाकि क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजना र कोशी गाउँपालिकाको संयोजन तथा मानव अधिकार समूहको सहकार्यमा भएको शिक्षा, स्वास्थ्य, खाध्य र आबाश अधिकारको कार्यक्रममा गरेको प्रतिवद्धता अनुसार कोशीमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।
जेठ ३१ गते एक कार्यक्रमका बीच कोशी १ लौकहीको कृषि भवनमा नागरिक आरोग्य सेवा केन्द्रको कार्यालय रिबन काटेर र अध्यक्ष अंसारीले पहिलो सेवाग्रही पुर्जी काटेर त्रिफला चुर्ण लिई उद्घाटन गर्नुभएको हो ।
नागरिक आरोग्य सेवा केन्द्रले कोशी गाउँपालिकाका नागरिकले स्वास्थ्य सेवा पाउने र खर्चिलो उपचार भन्दा आयुर्वेद सेवा निशुल्क पाउने अध्यक्ष अंसारीले बताउनुभयो ।
गाउँपालिकामा ‘नागरिक आरोग्य सेवा केन्द्र’ स्थापना गरिएकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न नसक्ने नागरिक पनि गाउँमै सेवा पाउने भएको बताउनुभयो । स्वास्थ्य व्यक्तिको स्वास्थ्यकोे रक्षा गर्ने र रोगी व्यक्तिको उपचार गर्ने उद्देश्यले गाउँपालिकाको केन्द्र लौकहीमा सेवा केन्द्रको स्थापना गरिएको छ ।
गाउँपालिकाले उपलब्ध गराएको कृषि भवनमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सूर्य नारायण मेहताको अध्यक्षतामा पालिका अध्यक्ष ऐयुव अंसारीले प्रमुख अथिति भएर उद्घाटन गर्नुभयो । गाउँपालिका अध्यक्ष अंसारी सहित, उपाध्यक्ष अ
अनिता देवी यादव, वडा अध्यक्ष राजकुमार साह, द्रोपती साह, कोशी स्वास्थ्य शाखा प्रमुख जमिल अख्तर, नेकपा माओवादी केन्द्रका नेता पञ्च नारायण मण्डल, जिल्ला स्तरीय कोभिड १९ रयापिट रेस्पोन्स टीमका संयोजक मेघराज न्यौपाने, सदस्य नईम अंसारी, जयकृष्ण यादव, बैध तरुण कुमार यादव, दिपेश कुमार मेहता, स्थानीय नागरिकहरू, आयुर्वेद क्षेत्रका बैध तथा चिकित्कको उपस्थितिमा आरोग्य केन्द्रको उद्घाटन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सूर्यनारायण मेहताले जानकारी दिनुभयो ।
नागरिक आरोग्य सेवा केन्द्रमा निःशुल्क पञ्चकर्म सेवा, योग सेवा, सामान्य उपचार, स्वस्थ जीवन कसरी बाँच्ने उपाय, सुत्केरीहरूको लागि दुग्धवर्दक औषधि, ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यवद्र्धक औषधि वितरण हुने जनाएको छ । यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारद्वारा निर्देषित कार्यक्रमहरू पनि सञ्चालन गर्ने जनाएको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथी लगायत चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तार गरी संघीय संरचनाअनुरूप आयुर्वेद चिकित्सासम्बन्धी तहगत संस्थाहरूको योजनाबद्ध विकास तथा विस्तार गर्ने लक्ष्य अनुसार हालसम्म जिल्लाको दुईवटा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ ।

यसअघि गढी गाउँपालिकामा सोही किसिमको नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको थियो । आगामी आर्थिक वर्षमा बाकी रहेको गाउँपालिका र नगरपालिकामा पनि आरोग्य सेवा केन्द्रको विस्तार गर्न पहल गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मेहताले बताउनुभयो ।